
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी विभिन्न पदमा ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट विद्युतीय माध्यममार्फत आवेदन माग गरेको हो । उक्त सूचना कात्तिक २८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित हुने छ ।
राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीका चार प्रकारका सहायक निर्देशक र सहायक द्वितीय श्रेणीको सहायक पदमा कर्मचारी भर्ना गर्न लागेको हो ।
बैंकका अनुसार सहायक निर्देशक (प्रशासन) का लागि २६ पदमा आवेदन माग गरिएको छ । तीमध्ये खुलातर्फ १४, महिलातर्फ चार, आदिवासी जनजातितर्फ तीन, मधेशीतर्फ तीन तथा दलित र अपाङ्गता भएका व्यक्तिका लागि एक–एक पद छुट्याइएको छ ।
त्यस्तै, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) का लागि तीन पदमध्ये खुलातर्फ दुई र महिलातर्फ एक पद छन् । सहायक निर्देशक (वाणिज्य कानुन) का लागि महिलातर्फ एक र दलिततर्फ एक गरी दुई पदमा आवेदन माग गरिएको छ । यो विज्ञापन पुनः प्रकाशित गरिएको हो ।
सहायक निर्देशक (सूचना प्रविधि) का लागि चार पदमध्ये खुलातर्फ दुई तथा आदिवासी जनजाति र मधेशीतर्फ एक–एक पद छुट्याइएको छ । सहायक द्वितीय श्रेणीको सहायक पदमा पनि २६ जना माग गरिएको छ । यसमा खुलातर्फ १४, महिलातर्फ चार, आदिवासी जनजाति र मधेशीतर्फ तीन–तीन तथा दलित र अपाङ्गता भएका व्यक्तिका लागि एक–एक पद छन् ।
आवेदन दिने अवधि
आवेदन कात्तिक २७ गतेदेखि खुला गरिएको छ । सामान्य दस्तुर तिरेर मङ्सिर १७ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुरसहित मङ्सिर २४ गतेसम्म आवेदन दिन पाइनेछ ।
इच्छुक उम्मेदवारले बैंकको वेबसाइट www.nrb.org.np को ‘करियर’ खण्डमा रहेको ‘अनलाइन पोर्टल फर ओपन कम्पिटिसन’ वा https://jobs.nrb.org.np/ मार्फत आवेदन दिनुपर्नेछ ।
आवश्यक शैक्षिक योग्यता
सहायक निर्देशक (प्रशासन) पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सहायक निर्देशक (लेखा/लेखापरीक्षण) का लागि मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी (सीए, एसीसीए वा सीपीए) उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सहायक निर्देशक (वाणिज्य कानुन) पदमा आवेदन दिन कानुनमा स्नातकोत्तर वा अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरी कानुनमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।
सहायक निर्देशक (सूचना प्रविधि) का लागि कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषयमा स्नातक वा सो सरहको योग्यता आवश्यक छ ।
सहायक द्वितीय श्रेणीको सहायक पदका लागि कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, लोक सेवा आयोगको एकीकृत परीक्षा प्रणालीमा आधारित संस्थाका सहायकस्तर प्रथम श्रेणी, पाँचौँ तह वा सो सरहका पदको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि आवश्यक पर्नेछ । उक्त प्रमाणपत्र जारी भएको मितिले एक वर्षसम्म मान्य हुनुपर्नेछ ।
उमेरको हद
सहायक निर्देशक पदका लागि मङ्सिर १७ गतेसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारका हकमा माथिल्लो उमेर हद ४० वर्ष तोकिएको छ । राष्ट्र बैंकका स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।
परीक्षाको मिति र कार्यक्रमसम्बन्धी सूचना लोक सेवा आयोगले प्रकाशन गर्नेछ । पदअनुसारको पाठ्यक्रम र विस्तृत विवरण राष्ट्र बैंकको वेबसाइटको ‘करियर’ खण्डमा उपलब्ध रहेको बैंकले जनाएको छ ।



















