
एजेन्सी । अमेरिकी हवाई यातायात प्रणालीमा देखिएको प्राविधिक समस्याले तीन दिन बितिसक्दा पनि पूर्ण निकास पाउन सकेको छैन ।
सञ्चार नेटवर्कमा आएको खराबीका कारण शुक्रबारदेखि प्रभावित भएको हवाई सेवा आइतबारसम्म पनि अस्तव्यस्त रहँदा हजारौँ यात्रु अलपत्र परेका छन् । उडानसम्बन्धी तथ्यांक राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार मात्रै अमेरिकामा २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी ढिलाइ भएका थिए ।
अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म सेवा सामान्य बन्ने अपेक्षा गरे पनि विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले त्यसका लागि समय लाग्ने बताएका छन् । हवाई यातायात प्रणालीमा देखिएको समस्याका कारण यात्रुलाई सास्ती भइरहेको छ ।
शुक्रबार संघीय उड्डयन प्रशासन (एफएए)को एयर ट्राफिक कन्ट्रोल प्रणालीमा समस्या देखिएपछि देशभरका विमानस्थलबाट हुने उडान करिब पाँच घण्टा रोकिएको थियो । पुराना तामाका तारलाई फाइबर अप्टिक प्रविधिमा रूपान्तरण गर्ने क्रममा जडान गरिएको राउटरबाट असामान्य रूपमा ठूलो मात्रामा डाटा प्रवाह हुँदा सञ्चार नेटवर्क प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अर्कान्सासको एल डोराडोस्थित एफएए केन्द्रमा जडान गरिएको राउटरले प्रत्येक चारदेखि पाँच सेकेन्डमा एक हजारभन्दा बढी कनेक्सन प्रयास गर्दा एयर ट्राफिक कन्ट्रोल केन्द्रको सञ्चार तथा राडार प्रणालीमा समस्या उत्पन्न भएको थियो । सावधानीस्वरूप समस्या उत्पन्न गराउने राउटरको प्रसारण बन्द गर्नुका साथै त्यस्तै प्रकृतिका अन्य ६० वटा राउटरमा पनि उक्त सुविधा निष्क्रिय पारिएको छ ।
अधिकारीहरूले घटनामा साइबर आक्रमण वा बाह्य हस्तक्षेपको प्रमाण नभेटिएको बताएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरानो हवाई नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न कंग्रेससँग थप बजेट मागेका छन् । यातायातमन्त्री डफीका अनुसार प्रणालीको पूर्ण स्तरोन्नतिका लागि ५० अर्ब डलर आवश्यक छ । तर, यसअघि स्वीकृत १२ अर्ब ५० करोड डलरमध्ये करिब ११ अर्ब खर्च हुन बाँकी रहेकाले थप बजेटको मागमाथि डेमोक्रेटिक सांसदहरूले प्रश्न उठाएका छन् ।
पुरानो प्रविधि, पूर्वाधारको कमजोरी र एयर ट्राफिक कन्ट्रोलरको अभावले अमेरिकी उड्डयन क्षेत्रमा गम्भीर चुनौती रहेको पछिल्लो घटनाले देखाएको छ ।

























