हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार ०९:३१

एजेन्सी । प्राविधिक समस्याका कारण अमेरिकाभर ठप्प पारिएको हवाई उडान सेवा पुनः सञ्चालनमा आएको छ । अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको खराबीका कारण १३ हजारभन्दा बढी उडान प्रभावित भएपछि लगाइएको प्रतिबन्ध हटाइएको हो ।

अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्या पहिचान गरी समाधानको प्रक्रिया अघि बढाइएको र देशको हवाई क्षेत्र खुला गरिएको जानकारी दिएका छन् । तर, प्रभावित उडानको चाप व्यवस्थापन गर्न समय लाग्ने भएकाले सेवा तत्काल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने उनले बताएका छन् ।

शुक्रबार दिउँसो राडार तथा सञ्चार प्रणालीमा समस्या देखिएपछि विमानको अवस्थाका बारेमा जानकारी लिन र पाइलटसँग सम्पर्क कायम गर्न कठिनाइ भएको थियो । त्यसपछि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै अधिकारीहरूले देशभरका विमानलाई उडान गर्न रोक लगाएका थिए । प्रतिबन्ध लाग्दा आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमान भने सुरक्षित अवतरण गराइएको थियो ।

अमेरिकी प्रशासनले उक्त घटना साइबर आक्रमण नभएको स्पष्ट पारेको छ । प्रारम्भिक अनुसन्धानमा माइक्रोसफ्टको प्रणाली वा कृत्रिम बुद्धिमत्ता (एआई)का कारण समस्या आएको संकेत पनि भेटिएको छैन ।

यातायात सचिव डफीले पुरानो हार्डवेयरमा आएको खराबीलाई समस्याको मुख्य कारण बताएका छन् । उनले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.