
विराटनगर । उद्योग संगठन मोरङले पूर्वअध्यक्ष तथा उद्योगी स्व. महेन्द्र गोल्छाको १७ औँ स्मृति दिवस मनाएको छ । स्मृति दिवसका अवसरमा संघका वर्तमान तथा पूर्वअध्यक्ष, कार्यसमिति सदस्य र परिवारका सदस्यहरूले स्व. गोल्छाको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
महेन्द्र गोल्छाको स्मृति दिवसका अवसरमा संगठनले विराटनगरस्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग गर्नुका साथै आश्रितहरूलाई भोजन वितरण गरेको छ ।
स्मृति दिवसमा संघका अध्यक्ष नन्दकिशोर राठीले स्व. गोल्छाले उद्योग तथा व्यवसाय क्षेत्रको हकहित संरक्षण, व्यावसायिक एकता र संस्थागत विकासमा पुर्याएको योगदानको स्मरण गर्दै उनको दूरदर्शी नेतृत्व र मार्गदर्शन आगामी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताए ।
संघका पूर्वअध्यक्ष राकेश सुरानाले स्व. गोल्छाले उद्योगी व्यवसायीको साझा हित र समग्र आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गर्न सधैँ प्रेरित गर्ने गरेको स्मरण गर्दै उनको योगदानलाई सम्मान गर्नुपर्ने बताए ।
त्यस्तै, पूर्वअध्यक्ष किशोर प्रधान, मुकेश उपाध्याय, भीम घिमिरे, सुयश प्याकुरेललगायतले स्व. गोल्छाको नेतृत्वमा संघले उद्योगी व्यवसायीको हकहित संरक्षणसँगै आर्थिक वातावरण निर्माण र निजी क्षेत्रको संस्थागत आवाज बुलन्द गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षद्वय विपिन काबरा र सुबोध कोइराला, कार्यसमिति सदस्यहरू सन्तोष भगत, जेनेन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, किरण व्यासलगायत स्व. गोल्छाका भाइ राजकुमार गोल्छा, छोरा पारस तथा छोरी युक्ति गोल्छाको उपस्थिति रहेको थियो।

























