झापा महिला गोल्डकपमा आज आर्मी र भारतीय टोली भिड्दै

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार ०९:४४

झापा । दोस्रो संस्करणको झापा महिला गोल्डकपमा आइतबार दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ । दुधे रंगशालामा हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र भारतको दिल्लीस्थित एभी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मीले राष्ट्रिय टोलीका सदस्य विमला विक, दीपा शाही, अनिता लम्जेल, दीपा राई, जेनिफर राना, सुक्रिया मियाँ, चन्द्रा भण्डारी र विमला चौधरीसहितको टोली मैदानमा उतार्नेछ ।

भारतीय टोली एभी फुटबल क्लबले पनि श्रेयाश्री केस, सुदिप्ता रोय, अनुस्का राई, अनुस्का लिम्बू र आकृतिसहितका खेलाडीलाई समावेश गरेको छ ।

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.