राष्ट्रिय खेलकुद नियमित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १३:१६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आइतबार सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा मात्र संस्करण आयोजना हुनु दुःखद भएको बताएका हुन् ।

यसपटकको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् ।

प्रतियोगितामा राष्ट्रिय स्तरका आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । प्रतियोगिताका खेल कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछन् ।

कर्णालीले पहिलोपटक राष्ट्रिय खेलकुदको आयोजना गर्न लागेको उल्लेख गर्दै उनले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधार विकासमा योगदान पुर्‍याउने बताएका छन् । खेलकुदका माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउन पनि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् । प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भाव बलियो बनाउन प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.