
झापा । चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीलाई १०–० गोल अन्तरले पराजित गर्दै दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी प्रतियोगिताको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।
आर्मीका लागि चन्द्रा र हेमाले तीन–तीन गोल गरे । सुक्रिया मियाले दुई तथा जेनिफर राना मगर र दिपा शाहीले एक–एक गोल थपे ।
आइतबार भएको खेलको पाँचौँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । बिमला चौधरीको प्रहार पोस्टमा लागेर फर्किएपछि प्राप्त बललाई उनले जाली चुमाइन्। १६औँ मिनेटमा मैदानको मध्यभागबाट चिप सट प्रहार गर्दै चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् ।
१८औँ मिनेटमा दिपा शाहीको क्रस पासमा हेमा चौधरीले गोल गरिन् । ३३औँ मिनेटमा सुक्रिया मियाले आर्मीको अग्रता बढाइन् । ४३औँ मिनेटमा चन्द्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो । यसअघि उद्घाटन खेलमा झापाकी सजिना स्याङ्ताङले चार गोल गरेकी थिइन् ।
४४औँ मिनेटमा बिमला चौधरीको क्रसमा हेडमार्फत गोल गर्दै हेमाले व्यक्तिगत दोस्रो गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सुक्रियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौँ गोल थपिन् ।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै हेमाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ७९औँ मिनेटमा जेनिफर राना मगर र ८९औँ मिनेटमा दिपा शाहीले गोल गरेपछि आर्मीले १०–० को जित दर्ता गर्यो ।
खेलको प्लेयर अफ द म्याच आर्मीकी चन्द्रा भण्डारी घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार पाइन् । कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले पनि प्रोत्साहनस्वरूप उनलाई १५ हजार रुपैयाँ प्रदान गरे ।
सोमबार हुने तेस्रो क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।



















