
काठमाडौं । कतारमा जारी एसीसी राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो ।
यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । उनले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतले ५७ रन बनाए ।
त्यस्तै मयन यादवले २७ रन जोड्दा बसिर अहमद १८ रनमा अविजित रहे । यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले समान एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । उसका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रनको योगदान दिए ।
यूएईलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । यस क्रममा उनले ३ ओभर मेडन राखेका थिए ।
कुशल भुर्तेलले पनि ३ विकेट झारे । त्यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले समान एक विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमा भारत एसँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई हराउँदै पुनरागमन गरेको छ । अब नेपालले मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

























