दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १९:००

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको बताएका छन् । नेपाल प्रिमियर लिगपछि नेपाली खेलकुद क्षेत्रको ध्यान राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको उल्लेख गर्दै उनले प्रतियोगितालाई भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले एनपीएलले सिर्जना गरेको ऊर्जा र उत्साहलाई निरन्तरता दिँदै दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन जुटेको बताएका छन् । प्रतियोगिताका मुख्य खेल मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।

२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्य राखिए पनि हालसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनु दुःखद भएको मन्त्री पोखरेलको भनाइ छ । विगतमा देखिएको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै प्रतियोगितालाई नियमित बनाउन आफू प्रतिबद्ध रहेको उनले बताएका छन् ।

खेलकुदको स्तर उकास्न र यसलाई बलियो संस्कृति तथा व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन खेलाडी, खेलप्रेमी र सरोकारवालाको साथ तथा सहकार्यको अपेक्षा गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.