पाँच वर्षदेखि अलपत्र चुहार पुलको काम अघि बढ्ने 

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ०६:५९

विराटनगर । भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीमाथिको चुहार मोटरेबल पुल निर्माणले पाँच वर्षपछि गति लिने भएको छ। पुलको डिजाइन तथा लागत संशोधन (भेरिएसन) सम्बन्धी समस्या समाधान भएसँगै प्रदेश सरकारले आगामी १८ महिनाभित्र अर्थात् २०८४ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै पुलको पुरानो डिजाइनमा एक मिटर उचाइ थप गरिएको छ। उचाइ बढाउँदा स्टिल संरचनाको परिमाणसमेत वृद्धि भएकाले निर्माण लागत ४ करोड ८५ लाख २४ हजार रुपैयाँले बढेको हो। भेरिएसन स्वीकृत भएसँगै लामो समयदेखि रोकिएको निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो।

पुल निर्माणको अवस्थाबारे जानकारी लिन आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङ्बोलगायतको टोलीले निर्माणस्थल अनुगमन गरेको छ। टोलीले स्थानीय बासिन्दा र निर्माण व्यवसायीसँग छलफल गर्दै अब पुल निर्माणको काम नरोकिने विश्वास दिलाएको छ।

मुख्यमन्त्री कार्की र मन्त्री आचार्यले बजेट अभाव हुन नदिई निर्धारित समयभित्रै आयोजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले निर्माण व्यवसायीलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै ढिलाइ भए ठेक्का सम्झौता तोडेर कानुनी प्रक्रियामार्फत आयोजना अघि बढाइने चेतावनीसमेत दिएका छन्।

कोशी प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक इन्जिनियर सुशील श्रेष्ठका अनुसार भेरिएसन स्वीकृत भएसँगै निर्माण कार्यले निरन्तरता पाउनेछ। निर्माण कम्पनीका प्रतिनिधिले पनि अबको १८ महिनाभित्र पुल सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए।

९० मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको सुरुको ठेक्का रकम २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ २१ पैसा थियो। भेरिएसनपछि लागत बढेर २६ करोड ८ लाख ३६ हजार ७२६ रुपैयाँ ७७ पैसा पुगेको छ। यो सुरुको लागतभन्दा ४ करोड ८५ लाख २४ हजार ३१९ रुपैयाँ ५६ पैसा अर्थात् २२।८६ प्रतिशत बढी हो।

त्यस्तै, पुल निर्माणमा प्रयोग हुने स्टिल संरचनाको परिमाण ३६४.७७ मेट्रिक टनबाट बढाएर ४९५.६६ मेट्रिक टन पुर्‍याइएको छ। निर्देशनालयको प्राविधिक विवरणअनुसार हालसम्म पुलको भौतिक प्रगति १९.७० प्रतिशत र वित्तीय प्रगति १९.५० प्रतिशत रहेको छ।

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरस्थित चुहार जोड्ने यो पुल निर्माण नहुँदा दक्षिणी भोजपुरका हतुवागढी, रामप्रसाद राई तथा आमचोक गाउँपालिकाका बासिन्दा वर्षौंदेखि आवागमनको समस्यामा छन्। दूधकोशीमा मोटरेबल पुल नहुँदा स्थानीयले सामान भरियामार्फत ओसार्नुपर्ने र तराईका बजारसम्म पुग्न लामो दूरी घुम्नुपर्ने बाध्यता भोग्दै आएका छन्।

पुल निर्माण सम्पन्न भएपछि दक्षिणी भोजपुरका बासिन्दालाई उदयपुर हुँदै धरान, इटहरीलगायत तराईका प्रमुख बजारसम्म पुग्न सहज हुनेछ। यसबाट कृषि उपजको ढुवानी, व्यापार, स्वास्थ्य उपचार तथा दैनिक आवागमनमा उल्लेख्य सहजता आउने अपेक्षा गरिएको छ।

२०७७ असोज २६ गते शिलान्यास गरिएको पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, डिजाइन तथा अन्य प्राविधिक समस्याका कारण पाँच वर्ष बित्दासमेत आयोजना अधुरै रह्यो। भेरिएसन स्वीकृत भएसँगै अब २०८४ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने प्रदेश सरकारको प्रतिबद्धताले स्थानीयमा लामो प्रतीक्षापछि पुल बन्ने आशा पलाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाह र मोदीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने
पाँच वर्षदेखि अलपत्र चुहार पुलको काम अघि बढ्ने 
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 
विराटनगरको एक दशकको विकास यात्रा समेटिएको पुस्तक सार्वजनिक
कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा बादल, हल्का वर्षा र हिमपातको सम्भावना
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता
एआई डिटेक्सनसम्बन्धी रिट सर्वोच्चद्वारा दरपीठ
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार शिलान्यास गरिने
यूएईलाई हराउँदै नेपालले खोल्यो जितको खाता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.