
नेपाल र भारतको सम्बन्धलाई दुई छिमेकी देशबीचको सामान्य कूटनीतिक सम्बन्धका रूपमा मात्र हेर्न मिल्दैन । इतिहास, भूगोल, संस्कृति, धर्म, भाषा, व्यापार र जनस्तरको सम्पर्कले यसलाई विशिष्ट बनाएको छ । यही निकटताभित्र विश्वास, असमझदारी, निर्भरता, स्वार्थ र अपेक्षाका अनेक तह छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई यही फराकिलो सन्दर्भमा हेर्नु आवश्यक छ ।
प्रधानमन्त्री शाहको भ्रमण औपचारिक भेटघाटमा मात्र सीमित हुनु हुँदैन । दुई देशबीच लामो समयदेखि उठ्दै आएका विषयमा ठोस संवाद र परिणाम खोज्ने अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्छ । व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, लगानी र विकास सहकार्य दुवै देशका साझा चासोका विषय हुन् । यी विषयमा पटकपटक सहमति र प्रतिबद्धता व्यक्त भए पनि अपेक्षित प्रगति हुन नसकेका उदाहरण छन् । अबको आवश्यकता सहमति दोहोर्याउनु होइन, तिनलाई व्यवहारमा उतार्नु हो ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग जोडिएको छ । इन्धन, दैनिक उपभोग्य वस्तु, औद्योगिक कच्चा पदार्थदेखि तेस्रो मुलुकसँगको व्यापारसम्म भारतसँगको सम्बन्धले प्रत्यक्ष प्रभाव पार्छ । भौगोलिक अवस्थिति र पारवहनका कारण नेपालका लागि भारतको महत्त्व स्वाभाविक छ । तर यही निर्भरतालाई सन्तुलित र पारस्परिक लाभको सम्बन्धमा बदल्नु नेपालको चुनौती हो । व्यापार घाटा घटाउन नेपालले उत्पादन र निर्यात बढाउनुपर्छ भने भारतीय बजारमा नेपाली वस्तुको सहज पहुँचका लागि पनि सहकार्य आवश्यक छ ।
भारत आकार, अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रभावका हिसाबले नेपालभन्दा निकै ठूलो देश हो । तर देशको आकार ठूलो हुँदैमा छिमेकीको स्वाभिमान र संवेदनशीलता सानो हुँदैन । दुई देशबीचको सम्बन्धको गुणस्तर शक्तिको असमानताले होइन, एकअर्काको हित र सम्मानलाई कति महत्त्व दिइन्छ भन्ने कुराले निर्धारण गर्छ । नेपालले आफ्नो राष्ट्रिय हित स्पष्ट राख्दै भारतसँग सहकार्य गर्नुपर्छ भने भारतले पनि नेपालको आवश्यकता र विकासका आकाङ्क्षालाई सम्मान गर्नुपर्छ ।
खुला सीमा, पारिवारिक सम्बन्ध, धार्मिक तथा सांस्कृतिक सम्पर्क, शिक्षा, रोजगारी र उपचारका लागि हुने आवागमनले दुई देशका नागरिकलाई नजिक बनाएको छ । सरकारहरूबीच कहिलेकाहीँ असमझदारी देखिए पनि जनस्तरको सम्बन्ध निरन्तर चलिरहेको हुन्छ । यही सम्बन्ध दुई देशबीचको वास्तविक सम्पत्ति हो । यसलाई राजनीतिक उतारचढावबाट जोगाउनु दुवै देशको जिम्मेवारी हो ।
सीमा विवाद, व्यापार तथा पारवहनका कठिनाइ, नेपाली वस्तुको बजार पहुँच र हवाई प्रवेश मार्गजस्ता विषयमा नेपालको चासो कायमै छ । यस्ता विषय औपचारिक भेटघाट र संयुक्त वक्तव्यमा मात्र सीमित हुनु हुँदैन । सहमति भएका विषय निर्धारित समयमा कार्यान्वयन हुनु आवश्यक छ । सम्बन्धको आत्मीयता भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ ।
ऊर्जा सहकार्य नेपाल र भारतका लागि सम्भावनाको महत्त्वपूर्ण क्षेत्र हो । जलविद्युत् उत्पादनको ठूलो सम्भावना भएको नेपाल र ऊर्जा माग तथा बजार विस्तार गरिरहेको भारतबीचको सहकार्यले दुवैलाई लाभ पुर्याउन सक्छ । तर विद्युत् उत्पादन र निर्यात मात्र पर्याप्त हुँदैन । प्रसारण लाइन, बजारको सुनिश्चितता, लगानी र आयोजना निर्माणमा पनि प्रगति हुनुपर्छ । त्यस्तै सडक, रेल, हवाई सेवा र सीमापार पूर्वाधार विस्तारले व्यापार, पर्यटन र आवागमन सहज बनाउन सक्छ ।
नेपाल भारतसँग मात्र होइन, चीनलगायत सबै मित्रराष्ट्रसँग सन्तुलित र पारस्परिक हितमा आधारित सम्बन्ध राख्न चाहन्छ । नेपालको विदेश नीति कुनै देशविरुद्ध अर्को देशसँग नजिकिने होइन । आफ्नो भौगोलिक अवस्था र राष्ट्रिय हितलाई ध्यानमा राख्दै सबैसँग सहकार्य गर्नु नै उपयुक्त बाटो हो । भारतले नेपालको सार्वभौम निर्णय र स्वतन्त्र विदेश नीतिलाई सम्मान गर्ने वातावरण बनाउनुपर्छ ।
प्रधानमन्त्री शाहका लागि यो भ्रमण सरकारको विदेश नीतिलाई व्यवहारमा देखाउने अवसर पनि हो । भ्रमणका क्रममा भएका समझदारी र सहमतिलाई समयसीमा, जिम्मेवार निकाय र परिणामसँग जोड्न सकिएन भने उपलब्धि कागजमै सीमित हुने जोखिम रहन्छ । त्यसैले दुवै देशका सम्बन्धित निकायले सहमति कार्यान्वयनको नियमित समीक्षा गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्छ ।
नेपाल र भारतको सम्बन्धमा आत्मीयता छ, तर आत्मीयताले सबै समस्या आफैँ समाधान गर्दैन । त्यसका लागि स्पष्ट संवाद, एकअर्काको संवेदनशीलताको सम्मान र परिणाममुखी सहकार्य चाहिन्छ । प्रधानमन्त्री शाहको भ्रमणको सफलता औपचारिक स्वागत वा संयुक्त वक्तव्यले होइन, व्यापारमा सहजता, ऊर्जा क्षेत्रमा अवसर, पूर्वाधारमा गति र दुई देशबीचको व्यवहारमा विश्वास बढे-नबढेको आधारमा मापन हुनुपर्छ । निकट छिमेकी हुनु आफैँमा उपलब्धि होइन, त्यो निकटतालाई दुवै देशका जनताको हितमा उपयोग गर्न सक्नु नै सम्बन्धको असली परीक्षा हो ।

























