
विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ ।
कानेपोखरीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ससुरा नाताका ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार पीडित र पीडक दुवै एक घरका ससुरा बुहारी (आफ्नै छोराकी श्रीमती)हुन् ।
कात्तिक २९ गते राति घरमै ससुराले बालिकालाई जबरजस्ती करणी गरको सूचना प्राप्त हुनासाथ ससुरालाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध जबरजस्ती करणी कसुरमा मंसिर १ गते अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।
घटनाबारे सोधपुछ गर्ने क्रममा बालिकालाई कुटपिट गरेर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बालिकाका २३ वर्षीय श्रीमानलाई पनि प्रहरीले पक्राउ गरेको छ । बालिकाका श्रीमानले घटनालाई लिएर आमा (श्रीमानकी आमा तथा बालिकाकी सासुआमा)लाई छेउमा राखी पीडित बालिकालाई कुटपिट गर्दै सोधपुछ गरेका थिए । उनले कुटपिट गरेको उक्त भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ ।
उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सम्प्रेषण भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । भिडियो सार्वजनिक गर्ने युवक (पीडितका श्रीमान) लाई मंसिर ९ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीमार्फत विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको र यस्ता घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने डीएसपी मिश्रले स्पष्ट पारे ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























