
काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार काठमाडौं महानगरपालिका–१७ स्थित स्नोलाइन होटलमा अवैध रूपमा रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा ५० लाख ५० हजार नेपाली रुपैयाँ, ४ हजार २१५.०९ ओमानी रियाल र ५५ यूएई दिरामसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम छन् ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

























