
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन माग गरेका छन् ।
आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको उनको आरोप छ । ‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन। यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले बिहीबार फेसबुकमा लेखेका छन्।
कांग्रेसको आह्वानमा गत १७ कात्तिकमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिका बैठक बोलाउन माग गरेको थियो । त्यसैको पृष्ठभूमिमा मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकले सरकारलाई सातबुँदे निर्देशन दिएको थियो । यही विषयलाई लिएर आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
आङ्देम्बेले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमाथि प्रश्न उठाउँदै कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको र ठेक्का रद्द गर्ने कानुनी आधार के रहेको भन्ने जवाफ मागेका छन् । ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ?’ उनले प्रश्न गरेका छन् । राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
मंगलबारको सार्वजनिक लेखा समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्य शक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको निर्देशनपछि आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । मधेशका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यो राष्ट्रिय गौरवको आयोजना हो । आयोजनाको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपका कारण आयोजना प्रभावित भएको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाएका छन् ।

























