
विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न प्रदेशसभाको सुशासन तथा योजना समितिले चार सदस्यीय संसदीय उपसमिति गठन गरेको छ।
बिहीबार बसेको समितिको बैठकले प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। उपसमितिका सदस्यमा राधाकृष्ण खनाल, भीमप्रसाद राजवंशी र मीना श्रेष्ठ रहेका छन्। प्रदेशसभा सचिव सुदर्शन खड्कालाई उपसमितिको सचिवको जिम्मेवारी दिइएको छ।
उपसमितिलाई छानबिन गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ। आयोगका तत्कालीन अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंमाथि लागेका अनियमिततासम्बन्धी आरोपको सत्यतथ्य पत्ता लगाउन उपसमिति गठन गरिएको समितिकी सभापति खगेश्वरी पौडेलले जानकारी दिइन्।
प्रदेश लोकसेवा आयोगमा अनियमितता गरेको आरोप सार्वजनिक भएपछि तत्कालीन अध्यक्ष गुरागाईंले गत कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा दिएका थिए। उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो।
अब संसदीय उपसमितिले आयोगमा भएका भनिएका अनियमितताका विषयमा छानबिन गरी प्रतिवेदन बुझाउनेछ।

























