
काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले आज देशभरको मौसम मुख्यतया सफा रहने भएको छ। तराईका केही स्थानमा बिहान हुस्सु तथा तुवाँलो लाग्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार भोलि बिहान उपत्यका, खोँच तथा तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

























