
काठमाडौं । वायु प्रदूषणसँगै भौतिक संरचनामा क्षति पुर्याएको भन्दै काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० स्थित ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योग (हिरा इँटा) बन्द गर्न स्थानीयले माग गरेका छन्।
नगरपालिकाभित्र मापदण्ड पूरा नगरेका करिब १६ वटा इँटाभट्टा बन्द भइसके पनि उक्त उद्योग भने कानुनविपरीत सञ्चालन भइरहेको स्थानीयको आरोप छ। लामो समयदेखि प्रयोग हुँदै आएको हेभी इक्विपमेन्ट र जेसीबीका कारण आसपासका भौतिक संरचनामा समेत क्षति पुगेको स्थानीयको भनाइ छ।
स्थानीयको गुनासोपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा बजार अनुगमन शाखा प्रमुख ममता मरासिनीसहितको टोलीले बुधबार इँटाभट्टाको स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा टोलीले स्थानीयका गुनासा र सुझावसमेत संकलन गरेको स्थानीय पूर्णध्वज कार्कीले जानकारी दिए।
स्थानीय देवेन्द्रबहादुर थापाका अनुसार इँटाभट्टा मापदण्ड पूरा नगरी सञ्चालन हुँदा आसपासका क्षेत्रमा वायु प्रदूषण बढेको छ। स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारसमेत कुण्ठित भएको भन्दै स्थानीयले पटक–पटक उद्योग बन्द गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ।
उनले यस विषयमा नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालयसम्म जानकारी गराइसकेको बताउँदै अब स्थानीयले न्याय पाउनेमा आशंका व्यक्त गरे।
स्थानीय र इँटाभट्टाका प्रतिनिधिबीच २०७९ साल मंसिर २६ गते जनप्रतिनिधिको रोहवरमा उद्योग सञ्चालन रोक्ने सहमति भए पनि हालसम्म कार्यान्वयन हुन नसकेको बताइएको छ। यस विषयलाई लिएर केही दिनअघि देउचाटोल र जरुचालिक मार्गका बासिन्दा तथा उद्योगका कर्मचारी प्रतिनिधिबीच विवादसमेत भएको थियो।
स्थानीयले उद्योगबाट भएको क्षतिको विषयमा वडाध्यक्ष शिवकुमार महर्जन, नगरप्रमुख घनश्याम गिरी तथा अन्य जनप्रतिनिधिसमक्ष समेत गुनासो गरिसकेका छन्। उनीहरूका अनुसार नगर क्षेत्रका मापदण्डविपरीत र वातावरणमैत्री नभएका अन्य करिब १६ वटा इँटाभट्टा बन्द भइसकेका छन्।
इँटाभट्टा बन्द गर्न माग गर्दै आएका स्थानीयलाई उद्योगका प्रतिनिधिबाट प्रहरी प्रशासनमा उजुरी नगर्न धम्कीसमेत आउने गरेको उनीहरूको आरोप छ। प्रशासनको स्थलगत अनुगमनपछि अब उद्योगको सञ्चालनबारे के निर्णय हुन्छ भन्नेमा स्थानीयको चासो बढेको छ।

























