
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-२ चुलिपोखरीमा पोखरीमा डुबेर शनिबार ४८ वर्षीय रामबहादुर राईको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दिउँसो करिब ४:४५ बजे गाईवस्तु चराउने क्रममा पोखरीको डिलबाट खसेर राई पानीमा डुबेका थिए । दाहिने हातविहीन रहेका उनमा छारे रोग रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीय जनप्रतिनिधिबाट खबर पाएपछि अस्थायी प्रहरी चौकी टाँडीबाट प्रहरी सहायक निरीक्षक प्रवीण खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी टाँडीबाट करिब ६-७ किलोमिटर पूर्वमा पर्छ ।

























