
विराटनगर । मोरङमा शान्ति सुरक्षा कायम गर्न तथा उद्योगी–व्यवसायीसँग सहकार्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको मोरङ उद्योग व्यापार संघले प्रशंसा गर्दै बिदाइ गरेको छ।
नेपाल प्रहरीको नियमित वार्षिक सरुवाअन्तर्गत अन्यत्र सरुवा भएका एसपी कटवाललाई संघले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो। संघका अध्यक्ष अनिलकुमार साहको सभापतित्वमा आयोजित कार्यक्रममा कटवालको कार्यकालमा उद्योगी–व्यवसायी र प्रहरीबीच स्थापित सहकार्यको प्रशंसा गरिएको थियो।
कार्यक्रममा अध्यक्ष साहले मोरङजस्तो संवेदनशील जिल्लामा शान्ति सुरक्षा कायम गर्न कटवालले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । संघका विभिन्न गतिविधि तथा विराट एक्स्पोलगायतका कार्यक्रम सफल बनाउन उनबाट प्राप्त निरन्तर सहयोगको स्मरण गर्दै साहले उद्योगी–व्यवसायीसँग उनले स्थापित गरेको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरे । उनले कटवालको आगामी कार्यकालको सफलताको कामनासमेत व्यक्त गरे ।
बिदाइका क्रममा एसपी कटवालले मोरङमा कार्यरत रहँदा संघबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे । अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा निजी क्षेत्रको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले संघका पदाधिकारी तथा कार्यसमिति सधैँ सहकार्यका लागि तत्पर रहेको पाएको बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठलगायतले कटवालसँगको सहकार्य र अनुभव सुनाउँदै उनको कार्यशैली तथा सहयोगी भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा महिला उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो।

























