
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोला क्षेत्रमा पहिरो पन्छाउने कामलाई तीव्रता दिन आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने जनाएको हो।
पहिरो पन्छाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
यस अवधिमा तुइन खोला क्षेत्रमा सडक पूर्ण रूपमा बन्द रहनेछ। यद्यपि, काठमाडौं–मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने तथा आउने सवारीसाधनको आवागमन भने नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ।



















