नेपालबाट ‘टोके’ तस्करी, भारत पुर्याउँदा मूल्य ८० लाख !

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १, शनिबार १८:१३

विराटनगर । लोपोन्मुख एवं संकटापन्न वन्यजन्तु टोके पछिल्लो समय नेपालबाट भारततिर तस्करी भइरहेको पत्ता लागेको छ । टोके छेपारोजस्तै देखिने सरिसृप (घस्रेर हिँड्ने) प्रजातिको वन्यजन्तु हो ।

अंग्रेजी नाम टोके गेको र वैज्ञानिक नाम गेको गेको रहेको टोकेलाई रंग फेर्ने छेपारो भनेर पनि चिनिने वन्यजन्तु विज्ञहरु बताउँछन् । यसले समय–समयमा आफ्नो रंग परिवर्तन गरिरहन्छ ।

भारतीय नागरिकलाई बिक्री गर्ने योजनासहित टोके बोकेर हिँड्दै गरेका एक जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ । पक्राउसँगै नेपालबाट भारततर्फ यसको तस्करी भइरहेको खुलासा भयो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ४० का दीपककुमार चौधरीलाई पक्राउ गरिएको बताए ।

चौधरीलाई पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ बाट पक्राउ गरिएको जानकारी दाहालले दिए । विशेष सूचनाका आधारमा चौधरीलाई नियन्त्रणमा लिएर पछाडि भिरेको ‘ब्याग’ खानतलासी गर्दा बरामद भएपछि टोकेको उद्धार गरिएको उनले बताए ।

चौधरीले प्रयोग गरेको प्रदेश १–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चौधरीसहित उद्धार गरिएको टोकेलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय कानेपोखरीको जिम्मा लगाएको छ । टोके अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री हुने वन्यजन्तु रहेको सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख एवं वन अधिकृत मोहम्मद अलाउद्धिनले बताए ।

प्रारम्भिक अनुसन्धानबाट टोकेको भारततिर तस्करी हुने गरेको पत्ता लागेको उनको भनाइ छ । अलाउद्धिनका अनुसार भारतको बाटो भएर बंगलादेश हुँदै अन्यत्र तस्करी हुने गरेको बताइन्छ । टोकेको तस्करीमा संलग्न भारतीय नागरिक अतिउल्लास केही वर्षअघि पक्राउसमेत परेका थिए । भारतीयले अन्तर्राष्ट्रिय सञ्जाल नै बनाएर यसको तस्करी गरिरहेको वन्यजन्तु विज्ञहरु बताउँछन् ।

उनीहरुका अनुसार केही वर्षअघि पूर्वी नेपालबाट यसको तस्करी व्यापक हुने गरेको थियो । बीचमा रोकिएको तस्करी पुनः सुरु भएको पाइएको छ । ‘केही वर्षअघिसम्म पूर्वी नेपालबाट भारततिर यसको तस्करी हुने गरेको रहेछ । तस्करीकै कारण लोप हुने अवस्थामा पुगेको पाइयो,’ वन कार्यालय स्रोतले भन्यो, ‘कडाइ गर्न थालिएपछि बीचमा रोकिरहेको रहेछ । पछिल्लो समय पुनः तस्करी हुन थालेको हाम्रो विश्लेषण छ ।’

टोके नेपाल, भारत, भुटान, बंगलादेश, फिलिपिन्स, मलेसिया तथा इन्डोनेसियालगायतका केही सीमित देशमा मात्रै पाइने वन अधिकृत अलाउद्धिनको भनाइ छ । ‘टोके लोपोन्मुख एवं संकटापन्न सरिसृप प्रजातिको वन्यजन्तु हो । छेपारोजस्तै देखिन्छ । बढीमा ५ सय ग्रामसम्म यसको तौल हुन्छ,’ उनी भन्छन्, ‘रातको समयमा सुनजस्तै टल्किन्छ । बेलाबेला रंग परिवर्तन भइरहन्छ । बिना इजाजत पाल्न, बेचबिखन गर्न र ओसारपसार गर्न पाइँदैन ।’

प्रहरीले उद्धार गरेको टोकेको लम्बाई ३५ सेन्टिमिटर र तौल १ सय १० ग्राम रहेको जानकारी अलाउद्धिनले दिए । उनका अनुसार किरा यसको मुख्य आहारा हो । ‘कोशी प्रदेशका ३ वटा जिल्ला सुनसरी, मोरङ र झापाका जंगलमा टोके पाइने गरेको छ । सखुवा (साल) भएको जंगल यसको मुख्य वासस्थान हो,’ अलाउद्धिन भन्छन्, ‘यदाकदा काठका पुराना घरहरुमा पनि पाइन्छ । तर, धेरै कम संख्यामा ।’ उनका अनुसार नचिन्नेहरुले यसलाई छेपारो नै मान्छन् ।

पक्राउ परेका चौधरीविरुद्ध संकटापन्न वन्यजन्तु तथा वनस्पति ऐन, २०७३ अनुसार मुद्दा चलाउन अदालतबाट म्याद गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए । यो मुद्दामा कसुर ठहर भए २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको अलाउद्धिन बताउँछन् । डिभिजन वन कार्यालय मोरङले यसको थप अनुसन्धानको जिम्मा वन अधिकृत अलाउद्धिनलाई नै दिएको छ ।

अनुसन्धान अधिकृत तोकिएका उनकै नेतृत्वमा वन कर्मचारी र वन विज्ञसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । टोकेको ओसारपसार र कारोबारमा संलग्न व्यक्तिलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ ।

पक्राउ परेका चौधरीले भने भारत पश्चिमबंगालका रवि दासभन्ने व्यक्तिलाई आफूले बिक्री गर्न लागेको प्रारम्भिक बयान दिएका छन् । ‘टोके लिनलाई कानेपोखरीसम्म म आफैं आउँछु भनेर दासले भनेका थिए । त्यही भएर ल्याइदिएको हुँ । त्यसवापत दासले २० हजार रूपैयाँ दिन्छु भनेका थिए,’ चौधरीको प्रारम्भिक बयान उद्रित गर्दै वन कार्यालय स्रोतले भन्यो ।

मूल्य ८० लाख

चौधरीले भारतीय नागरिकलाई २० हजारमा बेच्न खोजेको भने पनि प्रहरीले भने टोके किनबेचका लागि चौधरी र भारतीय नागरिकबीच १६ लाख रूपैयाँमा ‘डिल’ भएको दाबी गरेको छ । ‘भारतीय नागरिकसँग १६ लाख रूपैयाँमा कुरा मिलेपछि चौधरीले कानेपोखरीसम्म टोके ल्याइदिएको सूचना हामीलाई आएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘भारत पुर्याउँदा तौल र शारीरिक बनावटका आधारमा ८० लाख रूपैयाँसम्ममा किनबेच हुन्छभन्ने सुनियो ।’ प्रहरीका अनुसार टोके किन्न भनेर आएका भारतीय नागरिकलाई भने पक्राउ गर्न सकिएन ।

वन अधिकृत अलाउद्धिन प्रहरीले उद्धार गरेको टोकेलाई सरकारी वकिल कार्यालयको निर्देशनमा जंगलमा छाडिसकिएको बताउँछन् । ‘टोकेलाई सुरक्षितसाथ वनमा छाडिएको छ,’ उनले भने, ‘घटनाका सम्बन्धमा विभिन्न कोणबाट गम्भीर ढंगले अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार टोकेको तस्करी गर्नेलाई फिलिपिन्समा १२ वर्ष जेल सजाय हुने व्यवस्था छ । सबैभन्दा बढी फिलिपिन्सबाट यसको तस्करी हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । अत्यधिक तस्करीका कारण फिलिपिन्समा टोके लोप हुने अवस्थामा रहेको बताइन्छ ।

वन अधिकृत अलाउद्धिन टोके पाल्दा सौभाग्यशाली हुने मान्यतासमेत रहेको बताउँछन् । ‘सौभाग्यशाली हुने मान्यताका कारण धनाड्यहरुले घरमा पाल्ने गरेका छन् । तर, बिना इजाजत पाल्न पाइँदैन,’ उनी भन्छन्, ‘चीनमा क्यान्सरविरुद्धको औषधि बनाउन यसको प्रयोग गर्ने गरिएको बताइन्छ । सुन्दर रहनलाई यसको तेल प्रयोग गरिन्छभन्ने पनि सुनिन्छ ।’ पूर्वी नेपालबाट टोकेको तस्करी हुने गरेका घटना यसअघि पनि सार्वजनिक भएको अलाउद्धिन बताउँछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×