रवि लामिछानेमाथि पुनः म्याद थप गरिँदै

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार ०९:०२

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि मंगलबार (आज) पुनः म्याद थप गरिँदै छ ।

तिहारको सार्वजनिक बिदा सकिएर आजबाट कार्यालयहरु खुल्ने छन् । लामिछानेलाई हिरासतमा राख्नका लागि अदालतले दिएको म्याद कात्तिक १४ गते नै सकिएको भए पनि सार्वजनिक बिदाका कारण पुनः म्याद थप नगरिकन कास्की प्रहरीको हिरासतमै राखिएको थियो ।

कार्यालय खुलेसँगै लामिछानेलाई पुनः म्याद थपका निम्ति प्रहरीले आज कास्की जिल्ला अदालतमा लैजाने छ । रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

आफ्ना सभापति पक्राउ परेपछि रास्वपा आन्दोलित छ । आज अदालतमा म्याद थपका लागि लैजाने तयारी गरिएसँगै रास्वपाले पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनका लागि नेताहरु पोखरा केन्द्रित भएका छन् ।

लामिछानेको बयान भने सकिएको छ । उनले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । सूर्यदर्शन सहकारी पोखरा महानगरपालिका–५ मा सञ्चालित छ ।

लामिछानेसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन् ।

यसैबीच, अर्को सहकारी ठगीको अनुसन्धानका लागि लामिछानेलाई बुटवल पठाउने तयारी पनि भइरहेको छ । रुपन्देही प्रहरीले लामिछानेलाई उपस्थित गराइदिन यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।

बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान हुने छ । सुप्रिमबाट लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ ।

बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम सहकारीबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् । २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।

यो मुद्दामा सहकारी अध्यक्ष जीबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनसहित २८ जनालाई प्रतिवादी बनाइएको छ । तत्कालीन गृहमन्त्री लामिछानेलाई भने प्रतिवादी बनाइएको थिएन ।

अब प्रहरीले लामिछानेमाथि अनुसन्धान गरेर पुरक अभियोग लैजाने छ । सहकारी ठगीका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.