धनराज र उनकी पूर्वपत्नी ज्योति ।काठमाडौं । सहकारी ठगीमा नाम जोडिएपछि पूर्वमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीले सोधपुछ गरेको छ ।
ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता प्रकरणमा धनराजको नाम मुछिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कार्यालयमै बोलाएर उनीसँग बुधबार ५ घण्टासम्म सोधपुछ गरेको हो ।
दिउँसो १२ बजेदेखि ५ बजेसम्म सोधपुछ गरेपछि कागज गराएर छाडिएको सीआईबी स्रोतले बतायो । सहकारी ठगीमा गुरुङविरुद्धको किटानी जाहेरी नलिएको र उनलाई अनुसन्धानका दायरामा नल्याइएको भनेर प्रहरीको आलोचना हुने गरेको छ ।
सहकारी ठगीमा मुछिएर फरार रहेकी धनराजकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध अन्तरर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ‘रेड नोटिस’ जारी भइसकेको छ । ज्योति सहकारीको महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ ।
प्रहरीका अुनसार अहिले त्यो रकम ब्याज समेत गरेर १४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । बचतकर्ताका रूपमा सहकारीमा प्रवेश गरेकी ज्योति कोषाध्यक्ष हुँदै महाप्रबन्धकसम्म भइन । ज्योतिले १६ जना रकम संकलनकर्ताले ल्याएको रकममध्ये १२ करोड ९४ लाख ८९ हजार ३ सय ५७ रुपैयाँ सहकारीमा जम्मा नगरी ज्योतिबहादुर भण्डारीलाई दिएको प्रहरीको भनाइ छ । फरार रहेका भण्डारीविरुद्ध पनि ‘रेड नोटिस’ जारी भइसकेको छ ।
सहकारीमा ज्योतिले बदमासी गरेको कुरा थाहा हुँदा उनले पति धनराजसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन् । दायित्वबाट जोगिन सम्बन्धविच्छेद गरेको चर्चा छ । सहकारीको रकम हिनामिनाको कुरा बाहिर आएपछि धनराजले ऋणमध्ये केही रकम तिरेकोसमेत सार्वजनिक भएको छ ।

























