
रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बुधबार दिनभर बयान लिइएको छ ।
सरकारी वकिल र प्रहरी अधिकारीको उपस्थितिमा बिहान करिब १०ः१५ बजेबाट सुरु भएको बयान साँझ ७ बजेसम्म लिइएको थियो । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई बयानका लागि मंगलबार पोखराबाट रुपन्देही लगिएको हो ।
उनलाई सुप्रिम सहकारी, गोर्खा मिडिया नेटवर्क प्रालिलगायतसँग सम्बन्धित रहेर ५० भन्दा बढी प्रश्न सोधिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । बयानका क्रममा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भोलि (बिहीबार) पनि उनीसँग बयान लिइने छ ।

























