
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित सुशीला निकेतनमा मन्टेश्वरीको भौतिक संरचना निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ ।
विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल–५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव राजन भगतले हस्ताक्षर गरेका छन् ।
संरचना निर्माणका लागि १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । वडा नम्बर ८ ले २५ प्रतिशत र बाँकी रकम राउण्ड टेवल–५ ले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
भौतिक संरचना निर्माणका लागि राउण्ड टेवलले १३ लाख रुपैयाँ व्यहोर्ने छ । एक महिनाभित्र निर्माण सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरिने जानकारी राउण्ड टेवल–५ का अध्यक्ष पियुष लुनियाले दिए । राउण्ड टेवलले सो विद्यालयको बगैंचा निर्माण र रंगरोगनसमेत गर्ने छ ।
यसअघि विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब, कक्षाकोठालगायत निर्माण गरिएको थयो । विद्यालयका विद्यार्थीलाई पोशाक वितरणसँगै खाजाको समेत व्यवस्था राउण्ड टेवल–५ ले मिलाउँदै आएको छ ।
विद्यालयका १२ जना विद्यार्थी काठमाडौं घुमाउने योजनासमेत रहेको सचिव भगतले सुनाए । विद्यार्थीलाई हवाई जहाजबाट लाने र ल्याउने व्यवस्था मिलाइने छ ।
विराटनगरका मेयर नागेश कोइरालाले सबैको सहकार्य र सहयोगसँगै भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउन सकिने बताए । विराटनगरको विकासका लागि थुप्रै क्षेत्रमा साझेदारी गर्न सकिने उनको भनाइ छ ।
विराटनगर– ८ का वडाध्यक्ष राम पोखरेलले अन्य विद्यालयमा पनि मन्टेश्वरी सञ्चालन, शौचालय, पार्क निर्माणलगायतका विषयमा साझेदारी गरिने बताए ।

























