
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताएका छन् ।
महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीहरुको बिदाइ कार्यक्रमा बोल्दै मेयर कोइरालाले आजको आवश्यकता भनेको प्राविधिक शिक्षा हो ।
प्राविधिक शिक्षालाई प्राथमिकतामा नराखेसम्म बेरोजगारी समस्या समाधान नहुने दाबी गरे । महानगरपालिकाले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ छ ।
‘कम्प्युटर इन्जिनिरिङ, आइटी र विश्व बजारमा के माग भइरहेछ त्यसअनुसारको शिक्षा दिन सकेमा कोही पनि बेरोजगार बस्नुपर्दैन,’ उनले भने ।
आइटीसम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिले घरमै बसेर पनि राम्रो कमाइ गर्न सक्छन् । अहिले पनि धेरै युवाले नेपालमै बसेर विदेशको काम गरिरहेको उनले दाबी गरे ।
गत आर्थिक वर्षमा ६४ अर्बभन्दा बढी आईटी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्रिएको मेयर कोइरालाले बताए । अहिलेको शिक्षण पद्धतिबाट माथि उठ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले महानगरको र अभिभावकको इज्जत र प्रतिष्ठामाथि उठाउने गरी कार्य गर्न बहुप्राविधिक शिक्षालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा शिक्षालयका प्राचार्य प्ररिवेश पराजुली, महेन्द्र रात्रि माविका प्रधानाध्यापक झङ्क पराजुली, शिक्षक प्रल्हाद भट्ट, अरुणकुमार कर्णलगायतले शुभकामना व्यक्त गरे ।
आर्टिटेक्चर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङ, जेमेक्ट्रिक इन्जिनियरिङलगायत पठनपाठन हुन्छ ।
महानगर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा र प्रि–डिप्लो पूरा गरी ८० जना विद्यार्थी पास आउट भएका छन् ।

























