
विराटनगर । विराटनगर प्याब्सनको आयोजनामा महानगर स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्याब्सन विराटनगरले विराटनगरको आरोहण गुरुकुलमा लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगिता सिनियर र जुनियर गरी दुई चरणमा गरिएको थियो । जसमा विराटनगर भरका प्याब्सनमा आवद्ध ३१ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको जुनियरतर्फ एभरेष्ट सेकेन्डरी स्कुल प्रथम, सिद्धार्थशिशु सदन दोस्रो, देवकोटा सेकेण्डरी स्कुल तेस्रो र शिक्षादीप सेकेण्डरी स्कुल सान्त्वना भएका थिए ।
त्यसैगरी सिनियरतर्फ एभरेष्ट सेकेन्डरी स्कुल प्रथम, बुढानिलकण्ठ स्कुल दोस्रो, एजेलिया स्कुल तेस्रो र सिद्धार्थशिशु सदन सान्त्वना भयो ।
विद्यार्थीहरुले प्रतियोगितामा विभिन्न जातजातीका नृत्यहरु प्रस्तुत गरेका थिए । नेपाली लोकगीत संगीत, लोकनृत्य, लोक संस्कृति आदिको संरक्षण, सम्बद्धन र प्रवद्र्धन गर्नुका साथै विद्यार्थीभित्र रहेका प्रतिभालाई उजागर गर्नका लागि प्याब्सनले प्रत्यके वर्ष लोकनृत्य प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । जुनियरतर्फ पाँचौं स्थानमा परेको मोर्डन एरासहित ५ वटा स्कुल र सिनियरगर्फ तेस्रो स्थानसम्म परेका ३ वटा स्कुल जिल्ला स्तरीय नृत्य प्रतियोगिताको लागि छनौट भएका छन् ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी प्रमुख अतिथि, कोशी प्रदेश हिसानका सचिव दीपेश बाँस्तोला, मोरङ प्याब्सनका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल, सल्लाहकार संजय यादव, प्याब्सन विराटनगरका निवर्तमान अध्यक्ष मोहन बुढाथोकी, पूर्व सल्लाहकार इन्द्र राईलगायतले शुभकामना व्यक्ति गरेका थिए ।

























