तीन तहको अदालतमा पति वादी रहेकाे सम्बन्धविच्छेद मुद्दा, तर पुगेन दाबी (पूर्णपाठ)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार ०६:००

विराटनगर । तीन तहको अदालतले पतिले दायर गरेकाे सम्बन्धविच्छेद मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ ।

धेरैजसाे सम्बन्धविच्छेद मुद्दा पत्नीले दायर गरेका छन् । पत्नीले दायर गरेकाे मुद्दामा पतिले नचाहेपनि सम्बन्धविच्छेद हुनसक्छ । तर, काठमाडौं महानगरपालिका– ७ चावहिलका मुनिष आचार्यले श्रीमती ज्योति भनिने श्रुति गौतमविरुद्ध दायर गरेको सम्बन्धविच्छेद मुद्दामा जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन अदालत) र सर्वाेच्च अदालतले दाबी नपुग्ने फैसला गरेको हो ।

Advertisement

२०६९ कात्तिक ३ गतेबाट सुरु भएको यो मुद्दा २०८० पुस २३ गते सर्वाेच्च अदालतबाट किनारा लागेको थियो ।

तीन वर्षसम्म श्रीमती साथमा नबसेको भनि आचार्यले गौमतसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका थिए । तर, गौतमले आफूले रहरले नभइ बाध्यताले बाहिर बसेकाे दाबी पेस गरेपछि तीन तहकै अदालतले वादीले सम्बन्धविच्छेदका लागि गरेको दाबी नपुग्ने फैसला गरेको हो ।

यो मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश अर्जुन अधिकारीको इजलासले २०७२ असार २३ गते वादीले सम्बन्धविच्छेदका लागि लिएको दाबी नपुग्ने फैसला गरेको थियो । २०७२ फागुन २० गते तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश किशोर सिलवाल र नारायणप्रसाद श्रेष्‍ठको इजलासले जिल्लाको फैसला सदर गरेको थियो ।

वादीले प्रतिवादी श्रीमती ३ वर्षदेखि माइतमा बसेको, घरमा आएर आफ्ना परिवारका सदस्यमाथि हातपात र कुटपिट गरी घरमा तोडफोड गरेको दाबी गरेका थिए । तर, प्रतिवादीले अदालतमा श्रीमानसँग बस्ने चाहना हुँदाहुँदै आफूलाई जबरजस्ती माइत बस्न लगाएको भनि बयान दिएकी थिइन् ।

उनीहरुबीच २०६६ असार १५ गते मागी विवाह भएको थियो । विवाह भएदेखि पत्नीले घरमा हुँदा महिनावारी भएको छु भन्ने र महिनावारी नहुँदा परीक्षा छ पढ्नु पर्छ भनी माइती घरमा नै बस्ने गरेका कारण सम्बन्ध नरहेको कारण गर्भ पनि नरहेको दाबी वादी पक्षकाे थियाे । पत्नी ३ वर्ष भन्दा बढी समयदेखि माइतमै बसेको र आफू पत्नीबाट हिंसामा परेकाले सम्बन्धविच्छेद गरी पाउँ भनि दाबी गरेका थिए ।

पत्नीले भने अदालतमा श्रीमानको दाबी झुटो भएको दाबी गरिन, काकाको आशौच बार्नु पर्ने हुँदा ससुराले माइतमा बस्नु भनि पठाएको र अशौच सकिएपछि फर्कदा घरमा बस्न नदिएको लिखित जवाफ दिइन् । पतिको दाबी जस्तो आफ्नो इच्छाले लगातार ३ वर्षदेखि छुट्टै नबसेको र पतिसँगै बस्न तयार रहेकाले सँगै बस्न पहल गरिपाउँ भनि माग गरेकी थिइन् ।

जिल्ला अदालतले प्रतिवादी ज्योति भन्ने श्रुति गौतमले लोग्नेको मन्जुरी बेगर लगातार ३ वर्ष वा सो भन्दा बढी समयदेखि घर छाडी अलग बस्ने गरेको र लोग्नेको ज्यान जाने अंगभंग वा कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेको भन्ने समेतको फिराद जिकिर पुष्टि नभएकाले सम्बन्धविच्छेदका लागि दाबी नपुग्ने फैसला गरेको थियो । उच्चले पनि सोही फैसला सदर गर्यो । 

सर्वोच्च अदालतले तीन वर्ष अलग बसेकै आधारमा सम्बन्धविच्छेद नहुने फैसला गर्याे । ‘विवाह र परिवार सम्बन्धीको सामाजिक पक्षलाई अनदेखा गरी केवल तीन वर्ष भन्दा बढी अवधि लोग्नेसँग अलग बसेको अवस्थालाई मात्र सम्बन्धविच्छेद हुने आधारका रुपमा यान्त्रिक तवरले ग्रहण गरियो भने उल्लिखित कानुनी व्यवस्थाको न्यायोचित अर्थ गरेको मानिदैन,’ सर्वाेच्चले भनेको छ ,‘ …. के–कुन परिस्थितिमा श्रीमतीले लोग्नेलाई छाडी अलग बस्नुपरेको हो भन्ने प्रश्न मुद्दाको तथ्य पिच्छे फरक हुन सक्ने अवस्था रहन्छ । तथापि जुन स्वास्नी मानिसले, लोग्नेले सम्बन्धविच्छेद गरिपाउँ भनि मुद्दा दायर गर्दासमेत आफू लोग्नेसँगै बस्ने भनी तह-तह मुद्दामा जिकिर लिएको अवस्था छ त्यस्तो स्वास्नी मानिसले बिहेपश्चात् घरमा नबसी माइतीमा बस्दा लोग्नेलाई छोड्ने इरादाले स्वेच्छाले बसेको हो भनी अनुमान गर्नु न्यायोचित र तर्कसंगत हुने देखिएन ।’

सम्बन्धविच्छेद हुनका लागि स्वास्नीले लोग्नेको ज्यान जान सक्ने, अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक कष्‍ट हुने काम वा जाल प्रपञ्‍च गरेको वस्तुगत रुपमा पुष्टि हुनुपर्ने सर्वाेच्चको व्याख्या छ । ‘कानुनले इङ्गित गरेको घाउचोटको गम्भीरतालाई हेर्दा “ज्यान जाने” “अङ्गभङ्ग हुने”, वा “ठूलो शारीरिक कष्ट हुने” प्रकृतिको देखिनुपर्छ,’ सर्वाेच्चले भनेको छ,‘ शरीरमा लागेको जुनसुकै घाउ चोटले शारीरिक कष्‍ट पीडा हुनु स्वाभाविक हो तर कानूनले जुनसुकै घाउचोट वा शारीरिक कष्ट पीडालाई सम्बन्धविच्छेद हुन सक्ने आधारका रुपमा राखेको देखिएन । सम्बन्धविच्छेद हुनका लागि ज्यान जाने, अङ्गभङ्ग हुने वा ठूलो शारीरिक कष्‍ट हुने काम नै भएको हुनुपर्ने हुन्छ ।’

सर्वाेच्चले ठूलो शारीरिक वा मानसिक कष्‍ट, पीडा दिएको अवस्था हो वा होइन भनि यकिन गर्ने मानक एकसाथ सँगै रहनै नसक्ने र त्यसरी रहे बसेमा एक अर्काको ज्यान नै जोखिममा पर्ने सम्मको अवस्था स्थापित हुनुपर्ने व्याख्या गरेको छ । केवल लोग्ने स्वास्नीबीच सुमधुर सम्बन्ध कायम नरहेको वा निजहरुबीच पुनः दाम्पत्य जीवन सुमधुर हुन नसक्ने स्थितिलाई मात्र प्रचलित कानुनले सम्बन्धविच्छेद हुने आधारका रुपमा स्वीकार नगरेको फैसलामा उल्लेख छ ।

‘लोग्ने स्वास्नीबीचको असमझदारी वा वेमेलले लोग्ने स्वास्नी दुवैलाई वा निजहरुका परिवारलाई समेत मानसिक तनाव उत्पन्न गराउन सक्ने तथ्यलाई इन्कार गर्न सकिँदैन । तर, सम्बन्धविच्छेद सम्बन्धी कानुनको प्रयोजनका लागि त्यस्तो असमझदारी, बेमेल वा सामान्य झै–झगडालाई नै मानसिक कष्टका रुपमा बुझ्न मिल्ने देखिएन,’ सर्वाेच्चको फैसलामा भनिएको छ ,‘ सामान्यतः अकस्मात कुनै कारणले एक दुई पटक रिस, आवेग वा उत्तेजनामा आई भएका सामान्य वादविवाद, झैझगडा वा कुटपिटका घटनालाई कानुनमा प्रयुक्त ठूलो शारीरिक वा मानसिक कष्‍टका रुपमा बुझ्न मिल्दैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.