
विराटनगर । संसदीय राजनीतिका चतुर खेलाडी नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड संसद बैठकमा नियमित उपस्थीत छैनन् । निर्वाचनपछि सार्वजनिक कार्यक्रममा कमैमात्र देखिएका प्रचण्डले सक्रियता फेरि बढाएका छन् ।
कमजोर भएपनि आफूकेन्द्रीत राजनीति गर्ने प्रचण्ड फेरि नयाँ गृहकार्यमा जुटेका छन् । शुक्रबार विराटनगरबाट उनले आफ्नो तिब्र महत्वकांक्ष फेरि व्यक्त गरे । विगतमा उनी कम्युनिष्ट ध्रवीकरणको कुरा गर्थे । विराटनगरमा आयोजित प्रदेश स्तरीय एकता बैठकमा उनले कांग्रेसको समूहसँग पनि मिलेर अघि बढ्ने संकेत गरे ।
बैठकमा सहभागि हुनुअघि उनी नेता माधवकुमार नेपालसहित डाक्टर शेखर कोइरालाको निवास पुगेका थिए । कोइराला निवासमा करिब एक घण्टा बिताएका माधव प्रचण्डले आधा घण्टा गोप्य छलफल गरे । तीन जनाको बैठकमा अरुलाई जान दिइएन् ।
‘प्रचण्ड र माधव नेपाल आएपछि कोइराला निवास हेर्नुभयो, डाक्टरसावले देखाउनु भयो, निवासका बारेमा केही समय छलफल भयो,’ नेपाली कांग्रेस नगरसभापति दीपक चापागाई भन्छन्,‘ त्यसपछि उहाँहरु तीन जना आधाघण्टा अलग्नै छलफलमा बस्नुभयो, छलफलपछि सकिएपछि हामी गयौं ।’
कोइराला, नेपाल र प्रचण्डबीच के विषयमा छलफल भयो भन्ने सबै विषय बाहिर आएको छैन । तर,प्रदेश कमिटी बैठकमा प्रचण्डले कोइरालासँग भेटघाट गर्नुको विषयलाई प्रष्टाए । नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न‘सुपरपावर’ले भूमिका खेलेको दाबी गरेका उनले अब कार्यगत एकता र पार्टी एकता गरेर अघि बढ्ने बताए । करिब ४० मिनेट भाषण गरेका प्रचण्डले अमेरिकाको नाम सिधै लिएनन्, तर पटक–पटक सुपरपावर भन्दै असन्तोष व्यक्त गरिरहे ।
दुई तिहाईको सरकारविरुद्ध प्रचण्डले अन्य दल र घटकसँग एकता नभए कार्यगत एकता गर्न चाहेका छन् । उनले एमालेसँग तत्काल कार्यगत एकता गर्ने बताए । कार्यकर्तालाई सम्बोधन गर्दै गर्दा प्रचण्डले एमालेसँग एकता गर्दा प्रमुख प्रतिक्षी दल बन्ने बताए । उनले प्रतिपक्षी दलको नेता आफू बन्ने चाहेको पनि संकेत गरे ।
‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न काम गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी र अन्य दलहरू, जनमोर्चा लगायत सबैसँग मोर्चा बनाउने र लड्ने यो कुरा भनेका छौँ,’ उनले भने,‘ मैले जे बोलिराख्या छु नीति मात्रै भनेको होइन, अस्ति केन्द्रीय संयोजन समितिबाट पारित गरिसकेका छौँ । यहाँसम्म आउँदा सबैसँग छलफल सकारात्मक दिशामा अगाडि बढेको छ।’
‘ कांग्रेससँग नि बढ्या छ, एमालेसँग नि बढ्या छ, अन्य वामपन्थीसँग नि बढ्या छ, मधेसीसँग उपेन्द्र लगायतकाहरूसँग छलफल बढिराख्या छ,’ शेखर कोइरालासँगको छलफल भएको विषय उल्लेख गर्दै उनले भने,‘ तपाईंहरू कहाँ आउँदै गर्दा अघि माधव जी र म नेपाली कांग्रेसको शेखर कोइरालाको घर गयौँ, हाम्रो ध्यान त्यहाँ पनि छ ।’
संघीय संसदको चौथो शक्ती बनेका प्रचण्डले फेरि देशको नेतृत्व गर्ने हुटहुटी रहेको पनि बताए ।‘ हामीले देशको नेतृत्व फेरि पनि गर्नुछ, हामीले नै गर्नुपर्ने छ, सम्भावना हाम्रो मात्रै छ,’ उनले भने,‘ अरूले गरेर हुनेवाला छैन ।’
उनले आफ्नो पछिल्लो अभियानका विषयमा नेताकार्यकर्ता असन्तुष्ट रहेको कुरालाई पनि नकार्न सकेनन् ।‘ तपाईंहरूलाई त रिस पनि उठ्छ बेलाबेलामा, तपाईंहरूले गरेको गाली कहिले फेसबुकमा कहिले कहाँ देखि पनि राख्छु,’ उनले भने,‘ तपाईंहरू प्रति मेरो भरोसा कायमै छ, तपाईंहरूलाई मैले विश्वास गरिराखेको नै छ ।’
उनले अब निरन्तरतामा क्रमभंगता गरेर अघि बढ्ने बताए । ‘बौद्ध भिक्षु जस्तो घन्टी बजाउन खोज्ने प्रचण्ड–माधवहरू होइन भन्ने बुझ्नुहोला,’ उनले भने,‘ हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ हिजो, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ ।’
कार्यकर्तालाई अघि आउन आग्रह गर्दै उनले आफ्नो अन्तिम क्रमभङ्गा हेरेर अघि बढ्न आग्रह गरे । ‘तपाईंहरू बोल्डली अगाडि आउनुस्, नहिच्किचाइकन, नडराइकन, भ्रममा नपरिकन आउनु र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ,’ उनले भने,‘ प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस्। उही हुन्छ भन्ने चाहिँ पूर्वाग्रह नराख्नुहोला ।’

























