
विराटनगर । मधेस प्रदेश सरकारले चैत ७ गतेदेखि हुन लागेको एसइई परीक्षा बहिरष्कार गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार (आज) जनकरपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर चैत ७ गते बिहीबार सुरु हुने एसइई परीक्षाको सम्पूर्ण प्रक्रियाबाट प्रदेश सरकार अलग भएको बताएका छन् ।
मुख्यमन्त्री सिंहले परीक्षा समन्वय समितिलाई दिएको निर्देशन नमानेको भन्दै एसइईको परीक्षा प्रक्रियाबाट प्रदेश सरकार अलग रहेको प्रष्ट पारे ।
प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिए पनि शिक्षा समन्वय इकाईलगायत शैक्षिक संस्थाहरूले नमानेको बताउँदै, मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश सरकारले भनेको नमानेपछि परीक्षा प्रक्रियामा प्रदेश सरकारको सहभागिता हुँदैन । २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेस प्रदेशको परीक्षामा चलखेल गरेर विद्यार्थीहरूको भविष्यसँग खेलबाड गरिरहेको छन् ।’
एसइई परीक्षा समाप्त हुनासाथ शिक्षा अधिकारीलगायत निकायहरूमा अनुगमन गर्नुका साथै तालाबन्दी गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिए ।
गत २६ फाल्गुनमा मधेस सरकारले गोला प्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।
तर, सो निर्णय विपरीत जिल्ला परीक्षा समन्वय समितिहरूले केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएको मुख्यमन्त्री सिंहको आरोप छ ।

























