
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङका ९ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म मतपरिणाम सार्वजनिक भएकामध्ये ४ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ भने ३ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियुले जितेका छन् ।
कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै, विराटनगरको डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रितम साहको प्यानलै र विराट नर्सिङ कलेजको अध्यक्षमा पनि क्रान्तिकारीका रोहितकुमार ताजपुरिया निर्वाचित भएका छन् ।
त्यस्तै, केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका संगम कन्दङ्वा, सुकुना क्याम्पसको सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन् । सचिवमा पनि गठबन्धनकै रोहन खत्री विजयी हुँदा कोषाध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेविसंघकी सविना थापा विजयी भएकी छिन ।
त्यसैगरी, उर्लाबारी क्याम्पसको सभापतिमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई, लेटाङ क्याम्पसको सभापति नेविसंघका लेखनाथ दाहाल निर्वाचित भएका छन् ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो मतपरिणामअनुसार अखिल क्रान्तिकारी नै अगाडि देखिएको छ । मोरङका ३ आंगिक र ८ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो ।

























