
आदरणीय शिक्षक मित्रहरु,
हामी विशेष परिस्थितिका कारण काठमाडौं जान पाइरहेका छैनौं भने हामीले ‘डिजिटल’ आन्दोलन गर्न जरुरी छ।
विद्यालय बन्द छ भन्ने मौका छोपेर टुर जाने, टिकटक बनाउने, घुमफिरमा रमाउने गर्नु कत्तिको उचित होला ? हाम्रा प्रिय मित्रहरु टन्टलापुर घाममा भोक प्यास नभनी हाम्रो अधिकारको लडाइँमा हुनुहुन्छ । हामी अन्य हिसाबले रमाइ रहँदा उहाँहरुको मनमा कति चोट पुग्ला ? यसको ख्याल गरेका छौँ ? यो लडाइँ अमूक व्यक्ति र पात्रको मात्र हैन ।
सिंगो शिक्षक र राष्ट्रका लागि गरिएको लडाइँ हो । शिक्षक भएर राज्यको भविष्य र हाम्रो पेसागत सुरक्षाको लडाइँलाई अपमान हुने कार्यहरु नगरिदिनु सबैमा हार्दिक अनुरोध गर्दछु। हामी गर या मरको स्थितिमा छौँ ।
सकिन्छ सशरीर आन्दोलनमा जाऔं । सकिँदैन भने ‘भर्चुअल’ विद्रोह गरौं । तर, आन्दोलनकै उपहास हुने कार्यमा नलागौं । हाम्रा साथीहरुले बोलेका, विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित भएका हाम्रा समाचारलाई सेयर गरौं ।
आजको दुनिया ‘भर्चुअल’को छ । यसले ठूलो प्रभाव र दबाब सिर्जना गर्न सक्छ । त्यसैले मेरा प्रिय मित्रहरु भरपुर सामाजिक सञ्जालमा हाम्रा माग र मुद्दा फैलाऔं । यसले आन्दोलनमा उपस्थित भएका साथीहरुको हौसला बढाउँछ । हामी पनि हौसला बढाउने कार्यमा लागौं ।
जय शिक्षक ।।।
शिक्षक
प्रशान्त निरौला
श्री सर्वोदय मावि
धनपालथान, मोरङ

























