शिक्षादीपमा जलवायु परिवर्तनको सम्मेलन 

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार २०:१४

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले शुक्रबार तेस्रो जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गरेको छ ।

शिक्षादीपमा अध्ययनरत कक्षा ११ को जीव विज्ञान समूहका विद्यार्थीले जलवायु परिवर्तनको वर्तमान अवस्था, चुनौती र समाधानका विषयमा गरिएको अनुसन्धान सार्वजनिक गरेका छन् ।

‘ग्रहलाई शीतल पार, मनलाई न्यानो पार’ भन्ने मूल नारासाथ कलेज परिसरमा आयोजित तेस्रो जलवायु परिवर्तन सम्मेलनको उद्‌घाटन गर्दै कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले समयको माग अनुसारको शिक्षा शिक्षादीपले दिइरहेको बताए ।

उनले जलवायु परिवर्तनबारे विद्यार्थीले गरेका अनुसन्धानको प्रशंसा गर्दै अन्य देशका कारण जलवायु परिवर्तनको असर नेपालले भोगी रहेको बताए ।

जलवायु परिवर्तनको असरका कारण हिमाल पग्लिरहेको छ । सरकार पनि जलवायु परिवर्तनका विषयमा गम्भीर भएको र जलवायु परिवर्तनलाई रोक्न केही न केही गर्नु आवश्यक रहेको मन्त्री मण्डलले भने ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले यस्तो कार्यक्रमबाट विद्यार्थीले प्रत्यक्ष रूपमा जलवायुसम्बन्धी कुरा सिक्ने र जान्ने मौका पाउने भएकाले विगत ३ वर्षदेखि कलेजमै यो कार्यक्रम गर्दै आएका छौँ ।

उनले कलेजमा कार्यक्रम आयोजना गर्दा सबै विद्यार्थीहरूले थाहा पाउने र यसको प्रचारप्रसार आफैँ हुने विश्वास रहेको बताए ।

हाम्रो उद्देश्य भनेको एसइई दिएका र ११ कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनबारे बुझाउनु रहेको बताउँदै, प्रिन्सिपल खड्काले भने, ‘विद्यार्थीले मात्रै यो कुरा सिक्दैन कि उनीहरूले यहाँबाट सिकेका र जाने कुरालाई घरपरिवार, साथीभाइका साथै छरछिमेकलाई जलवायु परिवर्तन भनेको के हो ? यो कसरी हुन्छ ? यसको असरले हाम्रो जीवनमा कसरी हानि नोक्सानी पुर्‍याउँछ भन्ने बुझाउन सक्छन् भन्ने विश्वास लिएर यो कार्यक्रम गर्दै आएका हौँ ।’

विद्यार्थीहरूको प्रस्तुतीकरणबाट जलवायु परिवर्तनबारे चिन्ता व्यक्त गरेको प्रस्ट देखिन्छ ।

उनीहरूले प्रस्तुत गरेको प्रस्तुतीकरणमा जलवायुबारे चिन्ताका साथै यसलाई सबै पक्ष मिलेर कसरी रोक्न सकिन्छ भन्ने तर्क समेत राखेका देख्दा खुसी लागेको बताउँदै, प्रिन्सिपल खड्काले भने, ‘यसमा विद्यार्थीहरूले एकदमै मेहनत गरेको देखिन्छ । अब विद्यार्थीले भोलीका दिनमा यहाँबाट सिका कुरालाई आफ्नो व्यवहारमा लागू गर्न सक्छन् । कलेजमा ३२ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षादीपलाई कोशी प्रदेशकै नमुना कलेजको रूपमा स्थापित गर्ने छौँ ।’

उनले विद्यार्थीले जलवायु परिवर्तनको वर्तमान अवस्था, चुनौती र समाधानका विषय गरेको गहन अध्ययनको प्रशंसा गरे ।  कलेजका सञ्चालक रामचन्द्र अधिकारीले शिक्षादीपले काठमाडौंका कलेजलाई चुनौती दिन सक्ने पठनपाठन हुने बताए ।

त्यस अवसरमा कलेजका बाट प्रतिनिधित्व गर्दै नेपाल राष्ट्र बैंक विराटनगरले आयोजना गरेको निबन्ध प्रतियोगितामा तेस्रो हुने सिरिन भट्टराई र ललितकला संगम विराटनगरले आयोजना गरेको चित्रकलामा सर्वोत्कृष्ट हुने अपेक्षा राईलाई सम्मान गरिएको थियो ।

शिक्षादीप एजुकेसन फाउन्डेसनका अध्यक्ष भीम पराजुली, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह प्रा.डा. इन्द्रमणि भगतले विद्यार्थीले गरेको काम गरेको प्रशंसा गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.