कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार ११:१२

काठमाडौं । कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गरिने भएको छ । परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका राष्ट्रिय परीक्षा बोर्डले यसअघि नै सार्वजनिक गरेको थियो ।

शिक्षकको आन्दोलनका कारण परीक्षा रोकिने आशंका धेरैको थियो । तर, बोर्डको आज (मंगलबार) बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय लिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मिति एवं समयमै हुने उल्लेख गरे ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरिरहेका बेला बोर्डले भने तोकिएकै समयमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय लिएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाए । कुनै द्विविधा नराखी परीक्षा सञ्चालनमा जुट्न उनले अनुरोध गरे । परीक्षामा सहभागी हुन शर्माले विद्यार्थीलाई अनुरोधसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.