कानुनका विद्यार्थीहरूलाई अभिमुखीकरण 

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १४:३०

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय ‘कलेज अफ ल’ ले कानुनमा स्नातक (एलएल. बी.) र स्नातकोत्तर (एलएल. एम.) तहमा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ ।

कलेजले एक कार्यक्रमको आयोजना गरी एलएल. बी. र एलएल. एम. मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण गरेको हो ।

स्नातक तहमा ५ वर्षे बी. ए. एलएल. बी. र ३ वर्षे एलएल. बी. अध्यापन गराउँदै आएको कलेजले चालु शैक्षिक सत्रदेखि कानुनमा स्नातकोत्तर तहको एलएल. एम. तहको अध्यापन सुरु गरेको छ ।

एलएल. एम. मा ५० जना विद्यार्थी भर्ना भएका छन् । एलएल. बी. मा भने ६० जना विद्यार्थी भर्ना भएका छन् ।

४ वर्षदेखि बी.ए. एलएल. बी. मा एउटा सेक्सन सञ्चालन गर्दै आएको कलेजले चालु शैक्षिक सत्रदेखि १ सय २० जना विद्यार्थी भर्ना लिएर २ वटा सेक्सनमा अध्यापन गर्न सुरु गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले एलएल. एम. तहमा स्वदेश र विदेशका दक्ष प्राध्यापकहरूबाट अध्यापन गराउने जानकारी दिए ।

आफूले युरोपमा अध्ययन गर्दा विश्वभरका प्राध्यापकहरूले पढाएको स्मरण गर्दै उपकुलपति थपलियाले कलेज अफ ल मा अध्ययन गर्ने विद्यार्थीहरूले स्वदेश र विदेशका प्राध्यापकहरूको ज्ञान र अनुभव प्राप्त गर्ने बताए ।

विशेषज्ञ प्राध्यापकहरूबाट अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनकै लागि स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उपकुलपति थपलियाले जानकारी दिए ।

कलेज अफ ल लाई व्यवस्थित बनाउन नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको भन्दै उपकुलपति थपलियाले नयाँ भवन निर्माण भइसकेपछि भौतिक पूर्वाधारको समस्या समाधान हुने बताए ।

कलेज अफ ल का डाइरेक्टर महेशप्रसाद निरौलाले विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक गुणस्तर कायम राख्न क्याम्पसले कुनै कसर बाँकी नराख्ने जानकारी गराए ।

क्याम्पसमा पूर्ण कालिन प्राध्यापकको संख्या न्यून भएका कारण पठनपाठनमा समस्या आएको भन्दै डाइरेक्टर निरौलाले यो समस्या समाधान गर्न छिट्टै केही पूर्ण कालिन प्राध्यापकहरू थप गर्ने बताए ।

कला, कानुन तथा शिक्षा संकायका पूर्व डीन प्राध्यापक डा. अनिलकुमार पोखरेल, एलएल. एम. कार्यक्रमका संयोजक दीपककुमार खतिवडा, प्राध्यापकहरू वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, अधिवक्ता रुपेश कोइराला, निता प्याकुरेल भट्टराईलगायतले विद्यार्थीहरूलाई अभिमुखीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.