
काठमाडौं । आन्दोलनरत शिक्षकसँग सरकारले वार्ता सुरु गरेको छ । सरकार र शिक्षकबीच शनिबार भएको वार्तामा कुनै निष्कर्ष निस्कन सकेन ।
तथापि, वार्ता एवं छलफललाई निरन्तरता दिने निर्णय भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा पहिलो वार्ता भए पनि त्यसले कुनै निष्कर्ष दिन नसकेको हो ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार वार्ता निष्कर्षबिहीन भए पनि छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । ‘छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि वार्तामा बस्ने र संवादबाटै समस्याको हल खोज्ने सहमति भएको छ । अर्को बैठकको टुंगो लागेको छैन,’ उनले भने ।
वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राखेको थियो । महासंघले आफ्नो मागहरुबाट पछि नहट्ने अडान लिएको छ ।
मन्त्री पन्तले शिक्षकहरुले उठाएका माग ध्यानपूर्वक सुनेका थिए । उनले माग पूरा गर्न सकेसम्म प्रयास गर्ने आश्वासन दिएका छन् । पन्थ मन्त्री बनेपछि पहिलोपटक शिक्षकसँग वार्ता भएको हो ।
यद्यपि, शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिने भएका छन् । ‘आन्दोलन तत्काल स्थगित हुँदैन । आन्दोलन रोकिहाल्ने अवस्था बनेको छैन । सरकारले निकाश दिन्छ भन्ने लागेको छ,’ सुवेदीले भने ।
सरकारी शिक्षकको आन्दोलनका कारण मुलुकको शैक्षिक गतिविधि ठप्प छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर शिक्षकहरु २५ दिनदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।
सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी ३ दिनभित्र शिक्षकका माग सम्बोधन गर्न सरकारलाई गत बिहीबार आदेश दिएको थियो ।

























