
काठमाडौं । काठमाडौंमा प्रहरीसँग झडप हुँदा ६३ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएको जनाइएको छ ।
नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनकारी शिक्षकबीच आइतबार दिउँसो झडप भएको थियो । निषेधित क्षेत्र तोड्न खोज्दै शिक्षकहरु अघि बढ्न थालेपछि प्रहरीले पानीको फोहोरा र लाट्ठी हानेको थियो ।
शिक्षकहरु २६ दिनदेखि आन्दोलनमा रहे पनि यसअघि प्रहरीसँग मुठभेट भएको थिएन । तर, सरकारले आफूहरुको माग सुनुवाइ गर्न चासो नदिएको भन्दै २६ औं दिनमा शिक्षकहरुले अलि आक्रामक प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्रको ब्यारिकेट भत्काउँदै शिक्षकहरु अघि बढेपछि प्रहरीले रोक्न खोज्दा २ पक्षीय झडप भएको हो । झडपमा ६३ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । ्
उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको अधिकारीले बताए ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्ध लाट्ठी प्रहार गरेको शिक्षकहरुको आरोप छ । प्रहरीले शिक्षकलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन पानीको फोहोरा र लाट्ठी प्रहार गरेको थियो । शिक्षकहरुले प्रहरीलाई लक्षित गरेर ढुंगा प्रहार गरेका थिए ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राखेर शिक्षकहरु सडक आन्दोलन गरिरहेका छन् । ऐन माग्दा बन्दुक उपहार पाइएको अधिकारीले बताए । शिक्षक आन्दोलित भएपछि सरकारी शिक्षण संस्थाको शैक्षिक गतिविधि ठप्प छ ।

























