
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकको आन्दोलन थप चर्कने परिस्थिति बनेको छ ।
राज्य दमनमा उत्रिएपछि नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलन थप चर्काउने रणनीति बनेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण प्रदर्शनमा दमन भएपछि आन्दोलन चर्काउनुको विकल्प नभएको बताए ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार काठमाडौंमा झडप भएको थियो । झडपमा परेर ६२ जना शिक्षक र कर्मचारी घाइते भएको महासंघले जनाएको छ । पत्रकार सविना कार्कीसमेत घाइते भएकी छन् । उनको दुवै आँखामा चोट लागेको छ ।
‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौं । तर, राज्यले दमन गर्यो । अत्याचार गर्यो । काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउँछौं । हामीमाथि भएको अत्याचारको प्रतिकार गर्छौ,’ सुवेदीले भने । शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि क्रूर दमनको विरोधमा आन्दोलनलाई थप चर्काउने निर्णय भएको उनले बताए ।
महासंघले आफूहरुको आन्दोलनमा साथ दिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेको छ । ‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐनबिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आएर आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौं,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
महासंघले शान्तिपूर्ण आन्दोलनमा भिजिलान्ते पसेर ढुंगामुढा गरेर स्थिति भड्काउने काम भएको आरोपसमेत लगाएको छ । त्यसको आडमा प्रहरीले शिक्षक र कर्मचारीमाथि पानीको फोहोरा हान्ने र निर्मम ढंगले लाट्ठी प्रहार गर्नै काम भएको महासंघको दाबी छ ।
महासंघले घाइतेमध्ये करिब १ दर्जनको अवस्था चिन्ताजनक रहेको जनाएको छ । ‘हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै यो घटनामा घाइते भएका सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौं । हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भर्त्सना गर्दछौं,’ सुवेदीले भने ।
शिक्षकहरु चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । शिक्षक–कर्मचारी माथि अमानवीय हिसाबले आक्रमण गरिएको भन्दै महासंघले सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको उल्लेख गरेको छ ।

























