
काठमाडौं । शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उक्त आन्दोलनमा मिसिन गएका नेकपा (एकीकृत समाजवादी)का नेताविरुद्ध शिक्षकहरुले नाराबाजी गरेका छन् ।
आन्दोलनमा मिसनलाई भन्दै गएका एकीकृत समाजवादीका शीर्ष नेताहरु शिक्षकको नाराबाजीका कारण अपमानित भएर फर्किएका छन् । पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरु आन्दोलनस्थलमा पुग्नसाथ उनीहरुविरुद्ध नाराबाजी सुरु भएको थियो ।
शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित उनीहरु त्यहाँ पुगेका थिए । तर, नाराबाजी हुन थालेपछि केही शिक्षकहरुले नेपाल र खनालसहितलाई फर्किहाल्न आग्रह गरे । त्यसपछि उनीहरु आन्दोलनस्थलबाट हिस्स परेर फर्किएका छन् ।
‘हाम्रो आन्दोनलमा कोही नेता आउनु पर्दैन । सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएर नाराबाजीमा उत्रिएका थिए । त्यसपछि उनीहरु लज्जित भएर फर्किनु परेको थियो । फर्किने क्रममा आक्रमण हुनसक्ने देखेपछि प्रहरीले नेताहरु चढेको गाडीलाई ‘स्कर्टिङ’ गरेको थियो ।
‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर, पुलिसको दादागिरी बन्द गर’ भनेर औंलो ठड्याउँदै एकहोरो नारा लगाएर नेताहरूलाई आन्दोलनकारी शिक्षकहरूले बिजुलीबजारसम्म लखेटेका थिए । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन विभाजन गर्न अनेकथरी गतिविधि भइरहेको बताए ।
उनले आन्दोलनप्रति सचेत र जिम्मेवार भएर लाग्न शिक्षकहरुलाई आग्रह गरेका छन् । ‘हाम्रो आन्दोलन भड्काउने प्रयास भइरहेको छ । सचेत रहनुहोला । हामीले ढाँट्नुपर्ने केही छैन । २४ बुँदे कार्यसूची जारी गरेका छौं त्यो नै हाम्रो आधिकारिक डकुमेन्ट हो । यहाँ ९ बुँदे ७ बुँदेका कुरा पनि आइरहेका छन् । त्यस्तो केही होइन । हामी नै सचेत भएर आन्दोलनलाई सफल बनाउनुपर्छ,’ सुवेदीले भने ।

























