
विराटनगर । विराटनगर –५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलमा २ दिवसीय कविता लेखन तथा वाचन कार्यशाला सम्पन्न भएको छ ।
बिहीबार र शुक्रबार सञ्चालन भएको कार्यशालामा साहित्यमा रुचि राख्ने कक्षा ६ देखि ९ सम्मका करिब २ सय विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यशालालाई प्राध्यापक डा. देवी नेपालले सहजीकरण गरेका थिए । कार्यशालामा विद्यार्थीहरूले आफैँ कविताको सिर्जना गर्ने देखि लिएर विभिन्न भाकामा वाचन गर्ने अभ्यास गरे ।
विभिन्न छन्द र लयमा विद्यार्थीहरूले कविता वाचन गर्ने क्षमता विकास भएकोमा खुसी समेत व्यक्त गरे ।
हामीले २ दिनको कार्यशालाबाट धेरै कुरा सिक्न पाएको भन्दै कक्षा ९ का छात्र राज भण्डारीले भने, ‘यो कार्यशालाले वाचन गर्ने आत्मबलसमेत बढाएको छ ।’
विद्यालयका प्राचार्य टीकाराम पुरीले अन्य विधा जस्तै साहित्यिक विधा पनि उत्तिकै ओजपूर्ण रहेको बताए ।
उनले साहित्यका माध्यमबाट समेत धेरै कुरा व्यक्त गर्ने प्रचलन छ, यो एउटा संस्कृति रहेको बताए ।

























