
विराटनगर । विराटनगर –५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलको ‘प्रिफेक्ट’ पदमा माध्यमिक तहमा कक्षा १० का अनिरुद्ध सेढाईं र आधारभूत तहमा शिवम् पघैया निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार माध्यमिक तहमा १ सय ६७ मतका साथ सेढाईं निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी कक्षा ९ का चूडामणि भट्टले ९९ मत प्राप्त गरे । उक्त पदमा ४ जनाको उम्मेदवारी परेको थियो ।
यस्तै, माध्यमिक तहको ‘डेपुटी प्रिफेक्ट’ मा कक्षा १० की मनस्वी कोइरालाले १ सय ७९ मतले विजयी हुँदा उनकी निकटतम अप्रतिस्पर्धी कक्षा १० कै चारुना रौनियारले ७० मत प्राप्त गरिन् ।
माध्यमिक तहमा ४ सय मतदाता रहेकोमा ३ सय ५५ जनाले मतदान गरे । जसमध्ये ९ मतपत्र बदर भएको थियो भने ५ वटा मतपत्रमा खाली रहेको प्रमुख निर्वाचन आयुक्त रहेका सहायक प्रिन्सिपल टीएन भण्डारीले जानकारी दिए ।
त्यस्तै, प्राथमिक तहको ‘प्रिफेक्ट’ मा कक्षा ८ का शिवम् पघैयाले ३ सय ५२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कक्षा –७ का क्रियंश लाभले ६२ मत प्राप्त गरे ।
आधारभूत तहकै ‘डेपुटी प्रिफेक्ट’ मा कक्षा ८ की सृष्टि रिजाल निर्विरोध निर्वाचित भइन् ।
आधारभूत तहमा भने ६ देखि ८ कक्षासम्मका विद्यार्थीको ३ सय ५५ मत खसेको थियो । जसमा ९ मत बदर हुँदा ५ जनाले मतपत्र खाली छाडेको बताइएको छ ।
एभरेस्टले विद्यार्थीहरूलाई लोकतान्त्रिक पद्धति कस्तो हुन्छ भन्ने सिकाउँदै यहाँका जनप्रतिनिधि चयन र उनीहरूको उत्तरदायित्व बोध गराउन मतदान प्रक्रिया अवलम्बन गरिएको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बताए ।

























