
विराटनगर । मुलुकी सञ्चार नेटवटर्क प्रा.लिद्धारा सञ्चालित मुलुकी खबर डटकम अनलाइनले पहिलो वार्षिकोत्सव विद्यार्थीसँग अन्तरक्रिया गरेर मनाएको छ ।
कटहरी गाउँपालिका– ६ भौडाहामा रहेको प्रजातन्त्र माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार ‘सामाजिक सञ्जाल र कानुनी व्यवस्था’ सम्बन्धी अन्तरक्रिया गरेर वार्षिकोत्सव मनाइएको हो ।
वाषिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव एवं अधिवक्ता विनोदकुमार तिमल्सिनाले विद्यार्थीलाई सामाजिक सञ्जाल र कानुनी व्यवस्थाका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने कार्यक्रम मुलुकी सञ्चार नेटवर्कले आयोजना गरेको बताए ।
विद्यालयका प्रधानध्यापक महानन्द पण्डितले कानुनी सचेतना सम्बन्धी कार्यक्रमले विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत गराएको बताए ।
कटहरी गाउँपालिकाका युवा नेता मुकेश बुढाथोकीले ग्रामीण तहमा पुगेर मुलुकी खबरले प्रविधिको सही सदुपयोगका लागि विद्यार्थीलाई प्रोत्साहन गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतोले कुलतको रुपमा रहेको सामाजिक सञ्जाल प्रयोगलाई विद्यार्थीले कम गर्नुपर्ने बताए । सामाजिक सञ्जालको प्रयोगमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मुलुकी खबर डटकमका सम्पादक किशोर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुलुकी खबरका महाप्रबन्धक रविन भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।





























