
काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । योसँगै लुम्बिनी शीर्ष दुईमा रहने पक्का भएको छ ।
विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितसँगै प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाएका छन् । काठमान्डु ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छन् ।
लिग चरणका सबै ७ खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौँ स्थानमा सीमित रहँदै बाहिरिएको छ । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका थिए । लुम्बिनीलाई जितका लागि अन्तिम दुई ओभरमा ३२ रन आवश्यक थियो । सन्दीप जोराले १९औँ ओभरमा विराटनगरका इसुरु उडानालाई दुई छक्का र एक चौका प्रहार गर्दै १७ रन जोडे ।
अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा लुम्बिनीका अली शेखले विराटनगरका रुपेश सिंहलाई पहिलो बलमै छक्का प्रहार गरे। उक्त बल नो बल भएपछि थपिएको फ्रि हिटमा शेखले दुई रन लिए । दोस्रो बलमा अली र तेस्रो बलमा सन्दीपले एक–एक रन जोडे । चौथो बलमा ठूलो सट खेल्ने क्रममा अली शेख इसुरु उडानाबाट क्याच आउट भए । लुम्बिनीलाई जितका लागि दुई बलमा पाँच रन आवश्यक हुँदा क्रिजमा आएका रुबेन ट्रम्पलम्यानले रुपेश सिंहलाई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।
लुम्बिनीका ओपनर डार्शी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । पहिलो विकेटका लागि उनीहरूले ११.५ ओभरमा ८६ रनको साझेदारी गरेका थिए । तर, दुवै आउट भएपछि लुम्बिनीले नियमित अन्तरालमा विकेट गुमायो । निरोशन डिकवेला र दिलिप नाथ खाता नखोली आउट भए भने कप्तान रोहित पौडेल ९ रन बनाएर रनआउट भए । विराटनगरका अपराजित पौडेलले १३औँ ओभरमा डिकवेला र नाथलाई लगातार आउट गरेपछि विराटनगरले खेलमा पुनरागमन गरेको थियो ।
यसै खेलबाट एनपीएलमा डेब्यु गरेका अमेरिकी अलराउण्डर अली शेख र सन्दीप जोराले छैटौँ विकेटका लागि ४२ रनको महत्त्वपूर्ण साझेदारी गरे । शेखले १९ बलमा एक चौका र दुई छक्काको मद्दतमा २७ रन बनाए । आक्रामक ब्याटिङ गरेका जोराले ११ बलमा एक चौका र तीन छक्कासहित अविजित २५ रन जोडे । ट्रम्पलम्यानले एक बलमै छक्का प्रहार गर्दै लुम्बिनीको जित पक्का गरे ।
बलिङमा विराटनगरका अपराजित पौडेलले दुई तथा चरित असलंका र रुपेश सिंहले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो। उसका लागि चरित असलंकाले अर्धशतक बनाए ।
असलंकाले ४३ बलमा एक चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६४ रन जोडे। शुभम रन्जानेले २४ बलमा चार चौकासहित अविजित ३१ रन बनाए । ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे । शेहान जयसूर्या एक र इसुरु उडाना ६ रनमा आउट भए ।
विराटनगर ७०–१ को अवस्थामा हुँदा इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका शुभम रन्जानेसँग मिलेर असलंकाले ७५ रनको साझेदारी गरे । बलिङमा लुम्बिनीका किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले एक–एक विकेट लिए । किशोरले ४ ओभरमा २४ रन मात्र खर्चिए भने अभिषेकले ३ ओभरमा १५ रन दिए । ट्रम्पलम्यान भने महँगा साबित भए। उनले ४ ओभरमा ५२ रन खर्चिए ।

























