
काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन उच्च सतर्कताका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।
छठ पर्व लक्षित सुरक्षा व्यवस्थाबारे शनिबार साँझ भर्चुअल माध्यमबाट निर्देशन दिँदै उनले सम्भावित सुरक्षा चुनौतीको पूर्वआकलन गरी प्रभावकारी सुरक्षा योजना कार्यान्वयन गर्न र कुनै पनि किसिमको सुरक्षा कमजोरी हुन नदिन आग्रह गरेका हुन् ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागका प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख सहभागी थिए ।
महानिरीक्षक केसीले पर्वका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि र संवेदनशील अवस्थाबारे समयमै सूचना संकलन, विश्लेषण तथा आदानप्रदान गरी आवश्यक पूर्वतयारी गर्न निर्देशन दिए । उनले सुरक्षा निकाय र सरोकारवाला पक्षबीच समन्वय तथा सहकार्यमा जोड दिएका छन् ।
त्यस्तै, छठका क्रममा हुने भीडभाड र जमघट व्यवस्थापन गर्न, श्रद्धालुको आवागमन सहज बनाउन तथा नदी, पोखरी र जलाशय आसपास विशेष सुरक्षा सतर्कता अपनाउन उनले निर्देशन दिएका छन् ।
भीड व्यवस्थापनका क्रममा संवाद, सम्झाइबुझाइ र समन्वयलाई प्राथमिकता दिन तथा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा प्रचलित कानुन र आवश्यकताको सिद्धान्तअनुसार न्यूनतम बल प्रयोग गर्न पनि उनले निर्देशन दिएका छन् । फिल्ड कमाण्डरले समग्र अवस्थाको प्रत्यक्ष निगरानी र नियन्त्रण कायम राख्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।



















