
विराटनगर । भारतको पटनास्थित एमिटी युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एमिटी युनिभर्सिटीको स्कूलअफ ट्रेनिङ एण्ड लर्निङ र एमटीयूको स्कूल अफ एप्लाईड साईन्स टेक्नोलोजी एण्ड लबीच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि सम्झौताभएको हो । यो सम्झौताअनुसार शैक्षिक कार्यक्रम, अनुसन्धान, तालिम र विद्यार्थी आदान–प्रदानका क्षेत्रमा सहकार्य गर्नेछन् ।
विज्ञान, प्रविधि र इन्जिनियरिङलगायतका विषयमा संयुक्त परियोजना सञ्चालन, कार्यशाला, सेमिनार तथा इन्टर्नशिपमार्फत विद्यार्थीलाई व्यावहारिक अवसर दिने योजना छ । एमटीयूले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको तालिम र अध्ययन–अनुसन्धानमा एमिटीसँग जोड्नेछ भने एमिटीले पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन तथा प्राविधिक स्रोत उपलब्ध गराउनेछ।
एमटीयूका रजिष्टार डा. दिलनाथ फुँयाल र इन्स्टिच्युट अफ लका प्रिन्सिपल कोषराज न्यौपाने तथा एमिटीका कुल सचिव डा. एनके यादव र कानुन विभाग अध्यक्ष डा. राजिव रंजन झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौता प्रारम्भिक रूपमा ३ देखि ५ वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ।
कौशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले छोटो समयमै भारतका गुवाहाटी र पश्चिम बंगाल विश्वविद्यालयसँग पनि शैक्षिक सहकार्य गरिसकेको छ । दस वर्षभित्र दक्षिण एसियामा चिनिने प्राविधिक विश्वविद्यालय बन्ने लक्ष्य एमटीयूले लिएको छ।

























