‘बाल सुधार गृहलाई सुधार गर्नुपर्छ’

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १, शनिबार १८:५६

विराटनर। बाल न्याय र सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने कोशी प्रदेशका आन्तरिक मालिम तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बताएका छन् ।

उच्च अदालत विराटनगर बार एसोशिएसनले मुलुकी संहिता दिवस २०८१ को अवसरमा शनिबार आयोजना गरेको बाल सुधार गृहको व्यवस्थापकीय अवस्था तथा बाल न्याय र यसको अभ्यास विषयक छलफल कार्यक्रममा मन्त्री अधिकारीले बाल न्याय र सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

उनले बालबालिकाको हितका लागि बनेको ऐनको मर्म नमर्नेगरी काम गर्न आग्रह गरे । ‘बाल न्याय र सुधारको पक्षमा सबै जिम्मेवार हुनुपर्छ, ऐनको मूल मर्म मर्नु हुँदैन,’ उनले भने,‘ सबै सम्बन्धित पक्षले प्रतिबद्धता जनाउनुपर्छ, प्रहरीले अनुसन्धान गर्दा होलसेल रेट लगाउनु भएन, बालक र बयस्कलाई छुट्टै हेर्नुपर्छ ।’

कार्यक्रममा बाल सुधार गृहका प्रमुख मिलन चौहानले सुधारको गृहको अवस्था र जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईले बाल न्यायको अवस्था र अभ्यासको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सुधार गृहको क्षमता ५० जना भएपनि २३९ जना बालकलाई राखिएको छ । सुधार गृहका प्रमुख चौहानले क्षमता भन्दा धेरै बाल बिज्याई कर्ता रहेका कारण एउटै कोठामा ३० जनासम्म राख्नुपर्ने बाध्यता रहेको बताए ।

सुधार गृहका बालकको सहजताका लागि प्रदेश सरकारले भवन निर्माणका लागि तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने मन्त्री अधिकारीले प्रतिवद्धता जनाए । बाल सुधार गृहलाई सुधार गृहकै रुपमा अघि बढाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अधिकारीको भनाई छ ।

कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडीयाले बाल सुधार गृहको सुधारका लागि पालिकाको तर्फबाट सहयोग गर्ने बताए । सुधार गृहको अवस्था सुधारका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेले बाल सुधार गृहलाई सुधार गर्नुपर्ने दायित्व सबैको भएको बताए । बालसुधार गृह सुधार गुहजस्तो नभई कारागार जस्तो भएको उनको भनाई छ ।

पछिल्लो समय सुधार गृहमा राख्नुपर्नेहरु छुट्ने र समाजमा पुनस्थापित गर्नुपर्नेहरु सुधार गृहमै रहने अवस्था पनि देखिएको बताए । उनले सबै पक्षले मिलेर बाल सुधार गृहको अवस्था सुधार गर्ने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बाल सुधार गृहको सुधारका लागि राज्यले प्रयास गरिरहेको बताए ।

उनले पहिलेको भन्दा पछिल्लो अवस्था सुधार भएको बताए । बाल सुधार गृह आझेल परेको विषय भएकाले यसलाई सुधार्न सबै क्षेत्रबाट पहल आबश्यक रहेको बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता चुणामणी आचार्य, सुरेशलाल श्रेष्ठ, रमेश कोइरालालगायतले बाल सुधार गृहको सुधारका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.