
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छठ पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाएको बताएका छन् ।
छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कुनै एउटा समुदायको मौलिक परम्पराका रूपमा सुरु भएको छठ अहिले सम्पूर्ण नेपाली समाजलाई जोड्ने साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।
छठले हिमाल, पहाड र तराईबीचको भावनात्मक सम्बन्ध प्रगाढ बनाउनुका साथै जातीय, भाषिक, धार्मिक र क्षेत्रीय विविधताबीच आपसी सम्मान तथा सहअस्तित्वको संस्कार विकास गरेको उनको भनाइ छ। एउटै घाटमा विभिन्न समुदायका मानिसको सहभागिता, सहकार्य र सद्भावले नेपाली समाजको एकता र सहिष्णुतालाई जीवन्त रूपमा प्रस्तुत गर्ने उनले बताएका छन् ।
मेयर कोइरालाले छठलाई सत्य, निष्ठा, आस्था, पवित्रता र समर्पणको अनुपम संगमका रूपमा व्याख्या गरेका छन् । सूर्यदेव र छठी माताको उपासना गर्दै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने परम्पराले जीवनमा धैर्य, अनुशासन, त्याग र कृतज्ञताको महत्त्व स्थापित गरेको उनले उल्लेख गरेका छन् ।
प्रकृति र मानवबीचको गहिरो सम्बन्ध उजागर गर्ने छठले जलस्रोत संरक्षण, वातावरणीय स्वच्छता र प्राकृतिक सन्तुलन कायम राख्नसमेत प्रेरित गर्ने उनको भनाइ छ। धार्मिक आस्थासँगै प्रकृतिप्रतिको सम्मान र वातावरण संरक्षणको सन्देश बोकेको छठ नेपाली धार्मिक तथा सांस्कृतिक जीवनको महत्त्वपूर्ण सम्पदा भएको उनले बताएका छन् ।
कोइरालाले विराटनगरको धार्मिक तथा सांस्कृतिक विविधतालाई सहरको विशिष्ट पहिचानका रूपमा चित्रण गरेका छन् । विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको सहअस्तित्व रहेको विराटनगरमा मठमन्दिर, मस्जिद, गुम्बा, चर्च तथा विभिन्न समुदायका चाडपर्वले बहुलतायुक्त सामाजिक संरचनालाई जीवन्त बनाएको उनको भनाइ छ ।
विशेषगरी सिंघिया र केसलिया नदीलगायत जलाशयका किनारमा मनाइने छठले विराटनगरको धार्मिक आस्था र सांस्कृतिक वैभवलाई थप उजागर गरेको उनले बताएका छन् । छठ पूजामा देखिने सामूहिक सहभागिता र उत्साहले सहरको सामाजिक एकतालाई समेत प्रतिबिम्बित गर्ने उनको सन्देशमा उल्लेख छ ।
विराटनगरको विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित गर्न नहुने धारणा राख्दै कोइरालाले मौलिक संस्कृति, धार्मिक आस्था, सामाजिक सद्भाव र ऐतिहासिक पहिचानको संरक्षणलाई पनि समृद्ध सहर निर्माणको आधार मानेका छन् । महानगरपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सार्वजनिक स्थलको सरसफाइ र जलाशयको स्वच्छताका लागि पहल गर्दै आएको उनले बताएका छन् ।
छठ पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन पूजा आयोजक समिति, सामाजिक संघसंस्था, नगरवासी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले स्वच्छ र सुरक्षित वातावरण निर्माणमा सबैको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । छठले महानगरवासीसहित सम्पूर्ण नेपालीमा नयाँ उत्साह, सकारात्मक ऊर्जा, सामाजिक एकता र समृद्धिको भावना विकास गरोस् भन्ने कामनासमेत उनले गरेका छन् ।

























