
बिर्तामोड । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता यही मंसिर ५ देखि १२ गतेसम्म झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा सञ्चालन हुनेछ ।
आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले प्रतियोगितामा तीन देशका टोली सहभागी हुने जानकारी दिए । प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुनेछन् ।
त्यस्तै, झापा–११ फुटबल क्लब, भारतको नयाँ दिल्लीस्थित एभी फुटबल क्लब, भुटानको थिम्पु राभेन महिला फुटबल क्लब, पोखराको आरएस पोखरा फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लबले प्रतिस्पर्धा गर्ने सचिवालय प्रमुख हिमाल खरेलले बताए ।
मंसिर १२ गते हुने फाइनल खेलको विजेताले ११ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले बढाइएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो । यसपटक भारत र भुटानका टोलीको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अपेक्षा आयोजकले गरेको छ ।
अध्यक्ष थोप्राका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ । खेल हेर्न साधारण टिकटको मूल्य १०० देखि ५०० रुपैयाँसम्म र भिआइपी टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ ।
दर्शक व्यवस्थापनका लागि मैदानको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरी अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रत्येक खेलमा करिब सात हजार दर्शक अटाउन सक्नेगरी प्यारापिटको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।



















