छठले राष्ट्रिय एकता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०७:४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गर्दै नेपालीबीच राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन र आपसी सद्भाव सुदृढ बनाउन यस पर्वले प्रेरणा दिने बताएका छन् । दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने छठले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश दिने उनले उल्लेख गरेका छन् ।

विधिपूर्वक छठको व्रत बस्दा मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःखकष्ट हटेर शुभ हुने जनविश्वास रहेको पनि राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने तथ्यलाई आत्मसात् गर्दै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशयका किनारमा बसेर अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिई पूजा आराधना गर्ने परम्पराले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक ऐक्यबद्धता अभिव्यक्त गर्ने उनले बताएका छन् ।

सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै छठी माताको पूजा, अर्चना र व्रत गर्ने तथा रातभर नदी, खोला, पोखरी र तालतलैयाका किनारमा जाग्राम बसी हर्षोल्लासका साथ पर्व मनाउने चलन रहेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइँदै आएको छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा पनि श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्नु खुसीको विषय भएको उनले बताएका छन् ।

नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गति अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्ने प्रयासमा छठी माता र सूर्य भगवान्को कृपा रहिरहने कामना पनि राष्ट्रपति पौडेलले गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.