
विराटनगर । मकै खेतीका लागि खनजोत गर्नुपर्ने अनिवार्य हो । तर, जीवन विकास समाज खनजोत बिनानै मकै रोप्ने तयारीमा लागेको छ ।
भारतको पश्चिम बंगालमा प्रयोग भइरहेको यो प्रविधि मकैखेतीका लागि जीवन विकासले नेपालमा पहिलोपटक प्रयोग गर्न लागेको हो । यो कार्यक्रम सिमिट, उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीको समन्वयमा रूपान्तर परियोजनाअन्तर्गत सञ्चालन गर्न लागिएको हो ।
धानबाली उठाइसकेपछि परीक्षणको रुपमा मोरङका विभिन्न पालिकामा खनजोत बिनानै मकै खेती गर्ने जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीका कार्यकारी निर्देशक कूलमणि तिम्सिनाले जानकारी दिए । उनका अनुसार खनजोत नगरी गरिने मकै खेती (जिरो टिलेज मेज क्यालिब्रेसन)ले खेतीको लागत घटाउने र उत्पादन बढाउने छ ।
‘‘यो प्रविधिको प्रयोग गर्दा खेती गर्नुअघि खनजोत गर्नुपर्दैन । लगाउन सहज पनि छ,’ तिम्सिनाले भने, ‘मोरङको धनपालथान गाउँपालिका मकै खेती हुने क्षेत्र हो । यो वर्ष विभिन्न स्थानमा परीक्षणका रुपमा यो प्रविधिबाट खेती गर्छौं ।’ खनजोत बिनै मकै खेती गर्नका लागि जीवन विकासले प्राविधिकलाई दुई दिने तालिम दिन थालेको छ ।
बिहीबारबाट सुरु भएको तालिममा प्राविधिकसहित २५ जना सहभागी छन् । नेपालका प्राविधिकलाई तालिम दिनका लागि भारतको पश्चिम बंगाल कुच बिहारको सतिश सतमाईल क्लबका प्राविधिक आएका छन् ।
तालिममा कृषि अनुसन्धान केन्द्र तरहरा, जीवन विकास समाज, नेपाल बहुद्देश्यीय सहकारी संस्था झापा, सगुन कृषि सहकारी, धनपालथान गाउँपालिका
र उद्योग कृषि तथा सहकारी मन्त्रालयका कर्मचारी सहभागी छन् । शून्य खनजोत प्रविधिमार्फत खेती गर्दा लागत कम र उत्पादन बढी हुने उद्योग कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले बताए ।
नयाँ प्रविधि भएका कारण यो प्रभावकारी हुनसक्ने उनले बताए । ‘शून्य खनजोतको खेतीको फाइदा भनेको लागत एकदमै कम हुन्छ । तर, सुरुको अवस्थामा झारको नियन्त्रण चाहिँ गर्नुपर्छ,’ तालिमको उद्घाटन गर्दै पोखरेलले भने, ‘तालिमपश्चात दक्ष प्राविधिक तयार भई शून्य खनजोत प्रविधि कार्यान्वयनमा टेवा पुग्ने विश्वास लिइएको छ ।’
उक्त प्रविधिको अवलम्बन तथा कार्यान्वयन गर्दै आगामी दिनहरूमा शून्य खनजोत प्रविधि विस्तार गर्दै अगाडि बढ्ने जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीका अध्यक्ष अजयकुमार मण्डलले बताए ।



















